इन्द्रसरोवर तालमा डुबेर युवक बेपत्ता

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकाको मार्खुस्थित इन्द्रसरोवर तालमा डुबेर एक युवक बेपत्ता भएका छन्। काठमाडौं छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

एक्लै रहेका सुवेदी स्थानीयले चलाएको डुंगामा ताल घुम्न चढेको बताइएको छ। डुंगामा चढेका सुवेदीले आफूले लगाएको ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छोडेर तालमा हाम फालेका प्रत्यक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मानिस तालमा हामफालेको भन्ने सूचना प्राप्त हुनासाथ मार्खुमा रहेको प्रहरी उद्धारका लागि खटिए पनि निजलाई फेला पार्न नसकिएको प्रवक्ता कार्कीले बताए। तालमा हराइरहेका सुवेदीको आज पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

के–कति कारणले सुवेदी तालमा हाम फालेर बेपत्ता भएका हुन् भन्नेबारेमा थाहा हुन नसकेको प्रहरीको भनाइ छ। घटनाबारे आवश्यक अनुसन्धन थालिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

सुझावित समाचार