तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्न सांसदको माग

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याइन् । इसा अवार्डबाट सम्मानित तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतप्रति बधाई ज्ञापन गर्दै उनले विश्वमा आफ्नो योेग्यता र सेवाबाट नेपाललाई चिनाएकोमा सबै नेपालीका लागि गर्वको विषय भएको स्पष्ट पारिन् ।

‘बहराइन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनुभएको डा. सन्दुक रुइतप्रति हार्दिक बधाई ज्ञापन गर्दछु । विश्वमानचित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनुभएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौँ । यस अनुकरणीय कार्यका लागि डा. रुइतप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष ०८०–८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु,’ उनले भनिन्  ।

सुझावित समाचार