नयाँदिल्लीबाट सात नेपाली बालबालिकाको उद्धार

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

भारतको राजधानी दिल्लीस्थित नयाँदिल्ली रेल्वे स्टेसनबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष अभियानबाट ती बालबालिकाको उद्धार गरिएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपिएफ र जिआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झन्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।

नयाँदिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरूले बालबालिकाको उद्धार गरेका हुन् । समारोहमा बोल्दै दिल्ली सरकारअन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म १४ सै घन्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहको उद्धार गरिएको जानकारी दिए।

दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकालाई विभिन्न प्रलोभनमा दिल्ली पुर्याइने गरेको भन्दै उनले उद्धार गरेका बालबालिकालाई ‘किन इन्डिया’ नामक संस्था र नेपाली दूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको बताए । नेपालको तराई क्षेत्र विशेषगरी रौतहटका धेरै बालबालिका दिल्ली पुग्ने गरेकाे उनको भनाइ छ ।

सुझावित समाचार