नेपाल उद्योग वाणिज्य महासंघको आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले समर्थन गर्ने भएको छ । श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष पदमा जिताउनका लागि उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मत रूपमा समर्थन गर्ने निर्णय गरेको हो ।
शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई पनि जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको जनाइएको छ । पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सघाउने प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।
बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरू, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरूको पनि सहभागिता रहेको जनाइएको छ । सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उम्मेदवारीलाई सबै सदस्यहरूले सर्वसम्मत रूपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रममा उनले उद्योगीहरूको समस्या र चुनौतीलाई समाधान गर्न आफू लागिपर्ने बताए ।