६ दशकपछि विराटनगर विराट गोल्डकपको च्याम्पियन

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

घरेलु मैदानमा विराटनगरले ६१ वर्षपछि उपाधि जित्ने क्रममा बिहीबार लुका सकर क्लबलाई ४–० ले निराश पार्यो 

विराटनगर सिटीले ६१ वर्षपछि सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार भएको फाइनलमा विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० ले हराउँदै उपाधि हात पारेको हो । ०१९ सालमा आयोजक मोरङ–११ ले उपाधि हात पारेको थियो । ६१ वर्षपछि घरेलु मैदानमा विराटनगरले उपाधि उचाल्न ६ दशक कुर्नुपर्यो । च्याम्पियन विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ पाएका छन् । 

विराटनगरलाई उपाधि दिलाउने क्रममा अफिज ओरवा, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरुङले गोल गरेका थिए । फाइनलको म्यान अफ दी म्याच विराटनगरका सुरज बिके घोषित हुँदै ११ हजार रुपैयाँ पाए । फाइनलमा विधागत पुरस्कारमा विराटनगरको वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा विराटनगरका मेसुके घोषित भए । यसैगरी, फेयर प्लेयर टोली जावलाखेल युथ क्लब भयो । विराटनगरका अभिषेक गुरुङ प्रतियोगिताकै उच्च गोलकर्ता भए । उनले प्रतियोगितामा दुई गोल गरेका थिए । 

भारतका चालिज क्युराको उत्कृष्ट स्ट्राइकर भए । विराटनगरका युका सुजुकी उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलरक्षक विराटनगरका विशाल श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्डरमा च्याम्पियन टोलीका देवेन्द्र तामाङ र प्रशिक्षक पनि विराटनगरकै सन्तोष न्यौपाने भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पाए । 

यसअघि, खेलको सातौँ मिनेटमा विराटनगरका अफिज ओरवाले अग्रता गोल गरेका थिए । खेलको ७८औँ मिनेटमा विमल घर्तीमगरले विराटनगरलाई २–० को स्थितिमा राखे । खेलको ८९औँ मिनेटमा मेसुकेले घरेलु टोलीलाई ३–० को अग्रता दिलाए । इन्जुरी समयमा विराटनगरका अभिषेकले ४–० को जित पक्का पारे । 

सुझावित समाचार