अनलाइन व्यापारबाट नाफा कमाउन खोज्दा ४८ लाख गुम्यो

बिहिबार, १६ चैत, २०७९
डिजिटल संस्करण

१० हजार दिएर नेपालीको बैंक खाता प्रयोग, नौ चिनियाँसहित १९ जना पक्राउ 

नेपालमा चिनियाँ नागरिकले कल सेन्टर चलाएर अनलाइनमार्फत विभिन्न देशका नागरिकलाई ठगी गरेका घटना नौलो होइन । तर, केही चिनियाँले नेपालीलाई नै संगठित रूपमा अनलाइनमार्फत ठगी गर्न थालेका छन् । यस्तो गिरोहमा संलग्न नौ चिनियाँसहित १९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । 

अनलाइन व्यापारमा उच्च प्रतिफलको प्रलोभनमा ठगी गर्नेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको हो । अनलाइनमार्फत सामान किनबेच गर्दा केही दिनमै उच्च नाफा हुन्छ भनी प्रलोभनमा पारेर पैसा हाल्न लगाउने र लगानी बढाउँदै लगेर सो रकम नै ठगी गर्दै आएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए । एक पीडितले ४८ लाख रुपैयाँ ठगिएको भनेर दिएको उजुरीका आधारमा प्रहरीले गिरोहलाई पक्राउ गरेको हो । ‘यसअघि पक्राउ परेका चिनियाँले अन्य देशका नागरिकलाई ठगी गरेको देखिएको थियो,’ एसएसपी केसीले भने, ‘यसपटक भने नेपालीमाथि नै ठगी गरेको पाइयो ।’ 

सुरुमा थोरै रकम लगानी गर्न लगाउने र त्यसमा केही दिनमै ३० प्रतिशत नाफाको रकम उनीहरूको खातामा पठाउँथे । तर, लगानी रकम भने उनीहरूले चलाएको गोप्य वेबसाइटमै ब्यालेन्सका रूपमा देखाइन्थ्यो । नाफा आएपछि थप पैसा लगानी गर्न लगाई उनीहरूले फसाउँदै लग्थे । जसअनुसार एकै व्यक्तिले ४८ लाख रुपैयाँसम्म गुमाएका छन् । आफ्नो लगानी फिर्ता गर्न खोज्दा नपाएपछि ती व्यक्ति प्रहरीमा पुगेका थिए । सोही आधारमा अनुसन्धान गर्दा एउटै खाताबाट एक करोड ६४ लाख रुपैयाँसम्म निकालिएकाले यसमा पीडितहरू धेरै भएको हुन सक्ने एसएसपी केसीले बताए ।

अनलाइन बजारमा जस्तै विभिन्न सामानको खरिद गरी तत्कालै बिक्री गरेको देखाएर ठगी हुन्थ्यो । खासमा कुनै पनि सामानको त्यसरी खरिद–बिक्री नै हुने गरेको थिएन । बिक्री भएको देखाएर उनीहरूले भ्रममा पार्दै आएका थिए । 

प्रहरीका अनुसार आर्थिक कारोबारका लागि उनीहरूले नेपाली नागरिकको नाममा बैंक खाता खोलेर त्यसमार्फत लेनदेन गर्दै आएका थिए । चिनियाँलाई सघाउने मुख्य व्यक्ति दोलखाका अर्जुन श्रेष्ठसहित १० नेपाली पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा दोलखाकै बुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, राजकुमार लामा, बुढानीलकण्ठका प्रयास भण्डारी, रामेछापकी रविना सुनुवार, लमजुङकी सुनिता गुरुङ, मकवानपुरकी जमुना गुरुङ, उदयपुरकी अनिता मगर र गोरखाकी अनु गुरुङ छन् । 

सो गिरोहबाट धेरैजना पीडित भएको हुन सक्ने, तर डराएर उजुरी नआएको हुन सक्ने प्रहरी आशंका छ । त्यसरी अनलाइन कारोबार गर्नेलाई उनीमध्येबाटै प्रहरी बनेर कतिपयले म्यासेज पठाउने गर्दथे । प्रहरीमा उजुरी गरे आफूहरू नै फस्ने भ्रममा पारेर चिनियाँ गिरोहले त्यसरी ठगी गरेको हो । धेरैलाई ह्वाटसएपमार्फत सम्पर्क गरी सो जालमा फसाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । सुरुमा सम्पर्क गरेपछि टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन व्यापारको तालिम दिने गर्दथे । 

नेपाली नागरिकलाई उनीहरूको बैंक खाता प्रयोग गर्न दिएबापत मासिक १० हजार रुपैयाँ दिने गर्दथे । उनीहरूको खाताको कारोबार भने उनीहरूले नै चलाउँदै आएको प्रहरीले जनाएको छ । मुख्य सहयोगी अर्जुन भने पैसा ओसारपसारको काम पनि गर्दथे । प्रहरीले थप पीडितहरूको खोजी गरी अनुसन्धान अघि बढाएको छ । सो समूहले करोडौँ ठगी गरेको प्रहरी आशंका छ । 

अनलाइन व्यापार गर्दा सजग हुन पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । सम्बन्धित कम्पनी तथा वेबसाइटको आधिकारिता बुझेर मात्र कारोबार गर्नुपर्ने एसएसपी केसी बताउँछन् । उनीहरूबाट १२ वटा ल्यापटप, ७७ मोबाइल, ७२ वटा सिमकार्ड तथा चार लाख नगद प्रहरीले बरामद गरेको छ । बुढानीलकण्ठ र चन्डोलमा गोप्य कार्यालय राखेर उनीहरूले ठगी गर्दै आएका थिए । 

अवैध विदेशीमाथि छैन अनुगमन 
पक्राउ परेका पाँच चिनियाँसँग पासपोर्ट भेटिएको छैन भने तीनजनाको तीन महिनाअघि नै भिसाको अवधि सकिएको छ । तर, उनीहरूमाथि अध्यागमन विभागको कुनै निगरानी थिएन । भिसाको अवधि सकिएका विदेशीको विवरण अध्यागमनसँग भए पनि त्यस्ता विदेशीमाथि निगरानी गर्ने प्रणाली छैन । यही कारण नेपालमा अवैध गतिविधिमा विदेशहरूको चलखेल बढेको प्रहरी अधिकारी बताउँछन् । यसअघि अपराधकै उद्देश्य लिएर नेपाल आएका विदेशीहरू पटक–पटक पक्राउ पर्दै आएका छन् । चिनियाँ नागरिक त पर्यटक भिसामा लामो समय नेपाल बसेर अवैध गतिविधिमा सक्रिय हुने गरेका छन् । 

See More On

सुझावित समाचार