मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत लमजुङको खुदी र मनाङको धरापानीमा पनि २२० केभीका सबस्टेसन निर्माणाधीन छन् ।

खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ। भौगोलिक रूपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरू लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने प्राधिकरणले जनाएको छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका कामहरू भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी भई जडान कार्य जारी छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, व्यहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०–१३२ केभी, ३२० एमभिए र २२०–१३२ केभी, १६० एमभिए तथा १३२–३३ केभी,५० एमभिए क्षमताका पावर टान्सफर्मरहरू रहनेछन् । खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०–१३२ केभी, १६० एमभिए तथा १३२–३३ केभी, ५० एमभिए र २२०–१३२ केभी, १०० एमभिए तथा १३२–३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् ।

खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरण निर्माणस्थलमा ढुवानी सुरु भएको छ ।  मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

सुझावित समाचार