रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मरिउपोलको आकस्मिक भ्रमण गरेको क्रेमलिनले आइतबार जनाएको छ । राष्ट्रपति पुटिनले क्रिमिया एकीकरणको नवौँ वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घन्टापछि क्रेमलिनले वितरण गरेको भिडियोमा उनलाई हेलिकोप्टरबाट मरिउपोलमा अवतरण गरेको देखाइएको थियो ।
पुटिनले कार चलाएर सहरको भ्रमण गरेको भिडियोमा देख्न सकिन्छ । रुसी प्रशासनिक केन्द्र, क्रेमलिनका अनुसार उनले पुनर्निर्माण गरिएको म्युजिकल थिएटरको भ्रमण गर्नुका साथै भ्रमणका अवसरमा पुनर्निर्माण कार्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थियो । गत वर्षको फेब्रुअरीबाट युक्रेन द्वन्द्व सुरु भएयता पुटिनको पूर्वी डोनबास क्षेत्रमा यो पहिलो भ्रमण हो ।
एजोभस्टल स्टिल प्लान्टको निकै लामो सैन्य अभियानपछि मरिउपोल रुसी सेनाले कब्जा गरेको थियो । युक्रेनी बालबालिकाहरूको नियोजित रूपमा अपहरण गरेर युद्ध अपराध गरेको ठहर गर्दै हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई पक्राउ गरी कारबाही चलाउन आदेश दिएलगत्तै भएको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।