संखुवासभाका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको चहलपहल बढेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत जिल्लामा बरुण बहुमुखी क्याम्पस, संखुवासभा बहुमुखी क्याम्पस, मादी बहुमुखी क्याम्पस र रामेश्वर क्याम्पस गरी चार क्याम्पस रहेका छन् ।
यीमध्ये संखुवासभा बहुमुखी क्याम्पस चैनपुर र मादी बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने दुईमा आइतबार निर्वाचन हुँदै छ । संखुवासभा क्याम्पसमा आमोद कार्की र मादी क्याम्पसमा गोपाल प्रसाईं सभापति चयन भएका छन् । दुवैजना एमालेनिकट अनेरास्ववियुबाट चयन भएका हुन् । सभापतिबाहेक सचिव, उपाध्यक्षलगायत अन्य पदमा नेविसंघ र अखिल क्रान्तिकारीलाई समेटेर सर्वसम्मत समिति चयन गरिएको हो ।
बरुण र रामेश्वरमा प्रतिस्पर्धा हुने
जिल्लाका दुई क्याम्पस बरुण र रामेश्वरमा भने निर्वाचन हुने भएको छ । सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा विद्यार्थीबीच सबैभन्दा बढी राजनीतिक माहाेल तातेको छ । सदरमुकामको क्याम्पस र धेरै विद्यार्थी भएको क्याम्पस भएकाले पनि बरुण क्याम्पस पार्टी नेताहरूको समेत चासोको विषय बन्ने गरेको छ ।
यहाँ अनेरास्ववियु एक्लै लड्दै छ भने नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रूपमा मैदानमा उत्रिएका छन् । सभापतिमा विवश खत्री र सचिवमा लोकेन्द्र कुलुङसहित अनेरास्ववियु एकल प्यानल निर्वाचनमा होमिएको छ भने नेविसंघबाट सभापतिमा जनक राई र सचिवमा अखिल क्रान्तिकारीबाट सुभास राईलाई अघि सारिएको छ । यसअघि पनि बरुण क्याम्पसमा अनेरास्ववियुले नै सभापति जित्दै आएको छ ।
यता, रामेश्वर क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच एकल प्यानलमा प्रतिस्पर्धा हुने भएको छ । नेविसंघबाट ओमबहादुर खत्री सभापतिका उम्मेदवार बनेका छन् भने अनेरास्ववियुबाट हर्कबहादुर बयलकोटी उम्मेदवार बनेका छन् ।