उपराष्ट्रपति पदका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया सुरु भएको हो । मतदान प्रक्रिया बिहान १० बजेबाट सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपतिकाे चुनाव भएकाे हो । उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् ।
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउनेछैनन् । उनीहरू पनि निर्वाचनस्थलमा भने पुगिसकेका छन् । अन्य सांसदहरूले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।
मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।
निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार रहेको छ । निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार दिउँसाे ३ बजे मतदान सकिनेछ । मतदान सकिएपछि साढे ३ बजेबाट मतगणना सुरु गरिनेछ । साँझ ५ बजे परिणाम आइसक्नेछ । साँझ नै नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने तयारी छ ।