स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुदूरपश्चिम प्रदेशका दुई क्याम्पसमा सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइएको छ। दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा सहमतीय आधारमा पदाधिकारी टुंगो लगाइएको हो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दानेश्वर बहुमुखी क्याम्पसमा नेविसंघकी विमला जोशी र सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नवीन विष्ट निर्विरोध निर्वाचित भएका छन्।
दानेश्वर क्याम्पसमा सभापति नेविसंघ, सचिव अनेरास्ववियु, कोषाध्यक्ष अखिल क्रान्तिकारी र सदस्यमा समाजवादीनिकट अनेरास्ववियू, राप्रपानिकट विद्यार्थीबिच सहमति भएको हो। नेविसंघ कञ्चनपुरका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसबाट दानेश्वर क्याम्पसमा चुनाव गराउन खटाइएका कृष्ण भट्टले सहमतीय आधारमा पदाधिकारी टुंग्याइएको बताए।
अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका सचिव तिलक मालले दार्चुलाको गोकुलेश्वर क्याम्पसमा पनि सहमतीय आधारमा स्ववियु पदाधिकारी टुंगो लगाएको बताए। क्रान्तिकारी नेता मालले सुदूरपश्चिम विश्वविद्यालयको गोकुलेश्वर दार्चुला क्याम्पसमा अखिल क्रान्तिकारीका नवीनसिंह विष्ट निर्विरोध निर्वाचित भएको बताए। उनका अनुसार उक्त क्याम्पसमा क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघबीच सहमतीय आधारमा पदाधिकारी चयन गरिएको हो।
निर्विरोध निर्वाचित पदाधिकारीलाई निर्वाचित भएको घोषणादेखि प्रमाणपत्र दिन भने बाँकी रहेको छ। सुदूरपश्चिम प्रदेशमा रहेका त्रिवि, संस्कृत र सुप विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कतिपय क्याम्पसमा तालाबन्दी भएको छ भने कतिपयमा मनोनयन दर्ता गरिएको छ।