राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनको मतदानमा पनि सहभागी नहुने भएको छ। राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनको मतदानमा पनि तटस्थ बस्ने निर्णय गरेको हो।
विज्ञप्तिमार्फत केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता मोहन श्रेष्ठले सो जानकारी दिएका हुन्। किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय तत्काल फिर्ता लिनसमेत राप्रपाले माग गरेको छ।
‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित छ,’ विज्ञप्तिमा भनिएको छ।
राप्रपाले रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, बैंकको ब्याजदरको विषयमा आन्दोलनरत व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।