विदेशी लगानीकर्ताको समस्या समाधान गर्न एकल विन्दु सेवा सुरु गर्छौँ : प्रधानमन्त्री

मंगलबार, ३० फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल विन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशी लगानीकर्ताहरूको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे। 

उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ–नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गरे। चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति–नियम कारक रहेकाले अप्ठ्यारा नीति–नियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे। 

उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासुलगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे।

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याए।
 
कार्यक्रममा सिसिपिआइटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। 

उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए। 

उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रूपमा राखेकाले चिनियाँ नागरिक नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे। 

दुईपक्षीय व्यापार प्रवर्द्धन गर्दै जाने चीन सरकारको नीति भएकाले आफूहरू नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरू पहिचान गर्ने काममा लागेको पनि बताए। नेपालका लागि चिनियाँ राजदूत साङले नेपालीलाई चीन भ्रमण गर्न आग्रह गरे। 
 

सुझावित समाचार