सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध छन् । विरोध प्रदर्शनमा पाँच लाख सर्वसाधारण सहभागी भएको प्रदर्शनका आयोजकले दाबी गरेका छन् । देशको सबैभन्दा ठूलो सहर तेलअभिबमा दुई लाख मानिसले राष्ट्रिय झन्डा बोकेर प्रस्तावित न्यायिक सुधारको विरोध गरेका थिए । विश्लेषकहरूले विरोध प्रदर्शनलाई देशको इतिहासकै ठूलो सडक अवरोध भनेका छन् । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ गर्दै अदालतको शक्तिमा अंकुश लगाउँदा सरकारका अंगबीच सन्तुलन कायम हुने दाबी गरेका छन् । विपक्षीहरूले भने त्यसबाट लोकतन्त्र जोखिममा पर्ने बताएका छन् । शनिबारको जुलुसलाई विपक्षी नेता यायर लापिडले इजरायलको इतिहासमा सबैभन्दा ठूलो संकट भनेका छन् । त्यसैगरी उत्तरी सहर हाइफामा ५० हजारभन्दा बढी मानिस जुलुसमा सहभागी भएका थिए । सरकारी योजनाविरुद्धको राष्ट्रव्यापी विरोध प्रदर्शन दशौँ हप्तामा प्रवेश गरेको छ । 

जुलुसमा सहभागी तामिर गुयत्साब्रीले सरकारी योजना न्यायिक सुधार नभएको बताउँदै त्यसले इजरायललाई पूर्ण तानाशाही पद्धतिमा लैजाने टिप्पणी गरेका छन् । उनले आफ्ना सन्तानको स्वतन्त्रताका निम्ति सडकमा आउनुपरेको बताए । दक्षिणी सहर बेरसेवामा आयोजित जुलुसमा विपक्षी नेता लापिडले देशले अभूतपूर्व संकट सामना गरिरहेको बताए । ‘आतंकवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्तप्रायः भएको छ, देशबाट पैसा पलायन भइरहेको छ । इरानले साउदी अरबसँग हिजो मात्रै नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ । तर, हाम्रो सरकारले इजरायली प्रजातन्त्रलाई कुचल्ने प्रयास जारी राखेको छ’, तिक्ततापूर्ण इजरायल–इरान सम्बन्धको सन्दर्भ कोट्याउँदै लापिडले भने ।

अर्को एक घटनामा इजरायली सेनाले वेस्ट बैंक सहर नाब्लसनजिकै तीन सशस्त्र प्यालेस्टिनीलाई गोली हानी मारेको इजरायली सेनाले जनाएको छ । बन्दुकधारीहरूले इजरायली सेनाको चौकीमा गोली चलाएपछि सेनाले जवाफी कारबाही गरेको थियो । प्यालेस्टिनी अधिकारीहरूले घटनाबारे कुनै टिप्पणी गरेका छैनन् । हालैका महिनामा प्यालेस्टाइन र इजरायलबीच हिंसामा उल्लेखनीय वृद्धि भएको छ ।

सुझावित समाचार