एमाले सचेतकमा महेश बर्तौला

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

एमालेको सचेतकमा महेश बर्तौला चयन भएका छन्। पहिलोपटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका बर्तौलालाई एमाले संसदीय दलका नेता केपी ओलीले सचेतकको जिम्मेवारी दिएका हुन्। 

‘एमाले संघीय संसदीय दलको विधान २०७७, बमोजिम तपाईंलाई २०७९ फागुन २५ गतेदेखि लागू हुने गरी संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको सचेतकमा मनोनयन गरेको छु,’ दलका नेता ओलीको मनोनयनसम्बन्धी पत्रमा भनिएको छ, ‘विधानबमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

३९ वर्षीय बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले पहिलोपटकमै महत्वपूर्ण जिम्मेवारी पाएका छन्। नयाँ पत्रिकासँग प्रतिक्रिया दिँँदै उनले आफूमाथि संसदीय दलका नेता तथा पार्टी अध्यक्षले गर्नुभएको विश्वासलाई कमजोर हुन नदिई प्रतिनिधिसभामा भूमिका निर्वाह गर्ने प्रतिक्रिया जनाए। 

संसदीय राजनीतिमा आउनुअघि उनी लामो समय विद्यार्थी राजनीतिमा थिए। अनेरास्ववियुका उपाध्यक्षसमेत रहेका बर्तौला केही समय कार्यबाहक अध्यक्ष पनि भएका थिए। विद्यार्थी राजनीतिपछि उनी पार्टी राजनीतिमा सक्रिय भएका थिए। त्यसक्रममा उनले बागमती प्रदेशमा रहेका पार्टीको महत्वपूर्ण जिम्मेवारी निभाएका थिए। 

प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन्। छोटो समयमै उनले प्रतिनिधिसभामा पार्टीका तर्फबाट महत्वपूर्ण भूमिका कुशलतापूर्वक निर्वाह गरेका छन्। 

प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा एमालेबाट सदस्य भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका बर्तौला राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि बसेका थिए। यस्तै, उनी उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको पनि प्रतिनिधि छन्। 

सुझावित समाचार