‘सत्तास्वार्थको बलमा पुरुष मात्रै राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भन्नु सिंगो महिला आन्दोलनमाथि जालसाजी’

आइतबार, २८ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपति पदमा सत्ता दाउपेच र सत्तास्वार्थको बलमा पुरुष मात्रै उम्मेदवार बन्नु सिंगो नेपाली महिला आन्दोलनमाथि जालसाजी भएको टिप्पणी गरेको छ। 

उपराष्ट्रपतिमा जसपा संसदीय दलका नेता रामसहाय यादवको उम्मेदवारीविरुद्ध उजुरी दिएको एमालेले निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी कायम रहने निर्णय गरेपछि यस्तो प्रतिक्रिया दिएको हो। 

एमाले सांसद तथा उजुरीकर्ता महेश बर्तौलाले नेपालको संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने स्पष्ट व्यवस्था गरेकाले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको बताए। 

के भन्छन् उजुरीकर्ता बर्तौला ? 

नेपालको संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने स्पष्ट व्यवस्था गरेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले गरेको देखिँदैन।

त्यसैले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिको पदमा समेत  पुरुषकै उम्मेदवारी पर्नु संविधानको समग्र भावना र प्रचलित कानुनविपरीत  हुने भएकाले हामीले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गरी पाउन उजुरी प्रस्तुत  गरेका थियौँ। हामीलाई विश्वास थियो  कि संविधान र प्रचलित कानुनबमोजिम उहाँको उम्मेदवारी खारेज हुनेछ।

तर, आज निर्वाचन आयोगले उहाँको उम्मेदवारी कायम नै रहने गरी निर्णय गरेको छ। अब हामी राष्ट्रपति र उपराष्ट्रपतिजस्तो गरिमामय पदमा समेत सत्ता दाउपेच र सत्तास्वार्थको बलमा पुरुष मात्रै हुनुपर्छ भन्नु र यस मान्यतालाई बलपूर्वक स्थापित गर्न खोज्नु सिंगाे नेपाली महिला आन्दोलन र महिला अधिकारमाथिकै जालसाजी हो। त्यसैले अब हामी यस विषयमा राजनीतिक र संवैधानिक रूपमा प्रश्न उठाइरहनेछौँ र राजनीतिक रूपमा सबै प्रकारको दाउपेचका विरुद्ध खबरदारी गरिरहनेछौँ।
 

सुझावित समाचार