ओलीलाई थापाको जवाफ : ‘२०८४ सम्म एमालेसँग सत्ता सहकार्य हुँदैन’

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘राजनीतिमा केही असम्भव छैन भन्छन् नि, कांग्रेस र हामी एक ठाउँमा नआउने भनेर कसम त खाएका छैनौँ ।’ 

ओलीको यो अभिव्यक्तिमा वर्तमान प्रधानमन्त्री प्रचण्डलाई बाहिर राख्न एमालेले केही समयपछि कांग्रेसलाई प्रधानमन्त्रीको अफर गर्न सक्ने संकेत थियो । तर, ओलीले यस्तो अभिव्यक्ति दिएको एक घन्टा पनि नबित्दै कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले त्यसको खण्डन गरिदिएका छन् । 

राष्ट्रपति निर्वाचनमा मतदानपछि बाहिर आएका थापालाई सञ्चारकर्मीले ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया मागे । थापाले भने, ‘२०८४ सालसम्म त्यो सम्भावना छैन ।’ 

थापा वर्तमान सत्तागठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् । गत १० पुसमा माओवादीलाई रोक्न नसक्दा गुमेको राजनीतिक क्षति परिपूर्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई प्रमुख जिम्मेवारी दिएर माओवादी अध्यक्षसँग निरन्तर परामर्शमा खटाएका थिए । 

त्यसैले आफ्नोसमेत अथक प्रयासमा बनेको वर्तमान सत्तागठबन्धनले प्रतिनिधिसभाको बाँकी पूर्ण कार्यकाल बिताउनेमा थापा विश्वस्त छन् । उनले धेरैपटक सार्वजनिक रूपमा त्यस्तो अभिव्यक्ति दिँदै आएका छन् । 

बिहीबार पनि थापाले त्यसैलाई बल पुग्ने गरी भने, ‘२०८४ मा त्यो सम्भावना हुन सक्छ । हामी बालकोट आउँछौँ । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौँ ।’ 

एमालेले धेरैपटक धेरैलाई झुक्याएकाले यसपटक भने त्यो सम्भावना नभएको उनको भनाइ छ ।

सुझावित समाचार