मतदान सम्पन्न, केहीबेरमा मतगणना

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नयाँ राष्ट्रपति चयनका लागि जारी मतदान सम्पन्न भएकाे छ। कुल आठ सय ८२ मतदाता रहेकाे राष्ट्रपति निर्वाचनमा मतदान सम्पन्न भएकाे छ। 

संघतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेकाे सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्।   

प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल तीन सय ३२ सदस्य छन्। यसमध्ये सांसद डा. चन्द्र भण्डारी र वर्षमान पुन बिरामी भएकोले उनीहरू निर्वाचन प्रक्रियामा भाग लिएनन्। 

यस्तै, सांसद लक्ष्मी कोइरीको मुद्दा विचाराधीन अवस्थामा छ भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ। नयाँ राष्ट्रपति चयन प्रक्रिया राप्रपा १४ र नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे।  

मतदान बिहान १० देखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियाे। 

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्। 

निर्वाचन आयाेगले अब आवश्यक प्रक्रिया पूरा गरी आजै ४ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएकाे छ। आयाेगले मतगणनाका लागि सातवटा निर्णयसमेत सार्वजनिक गरेकाे छ। 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ। 

सुझावित समाचार