गुल्मीमा एक बेसहारा महिलाको उद्धार

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

बुधबार ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ। औपचारिकता बनेका दिवसहरूले गाउँलाई छुँदैन। मञ्च र भाषणमा लाखौँ खर्च हुन्छन्। सभा र सडकमा नारा घन्किए पनि भुइँमान्छेले परिवर्तनको महसुस गर्न सकिरहेका छैनन्। 

तर, गुल्मीको सत्यवती गाउँपालिकाले भने आज बिहानै बेसहारा महिलाको उद्धार गरेको छ। अन्दाजी ४५ वर्षकी महिला पछिल्लो दुई महिनादेखि जुहाङ बजारमा देखिन थालेकी थिइन्। झुत्रे लुगा र बेसहारा जीवन बाँचिरहेकी उनी नेपाली भाषा पनि बुझ्दिनन्।

मानसिक सन्तुलन गुमाएकी उनी गर्भवती पनि रहेको कुरा हुन थालेपछि पालिकाले निगरानी बढायो। बुधबार बिहानै गाउँपालिका उपप्रमुख नीरमाया तरामुले महिलालाई गाउँपालिका कार्यालय लगेर आफैँले कपाल काटिदिएर नुहाई–धुवाई गरिदिएकी छिन्। ‘बिहानै सडकछाप नारीको उद्धार गरेका छौँ। मुखले बोल्न सकिनन्, मनले पक्कै सुखानुभूति गरिन् होला,’ उनले भनिन्, ‘सबैभन्दा ठूलो पुण्यकर्मको महसुस भएको छ।’ यद्यपि, स्थानीयले अनुमानका भरमा भने पनि ती महिला गर्भवती नभएको उनले बताइन्।

स्थानीय कसैले पनि नजिक परेर सरसफाइ गर्न नमानेपछि आफैँले कपाल फाल्ने, नुहाइदिने र नयाँ कपडा फेराइदिएको तरामुले बताइन्। ती महिलालाई आजै गाउँपालिकाले समन्वय गरेर मानव सेवा आश्रम बुटवल पठाएको छ।

See More On

सुझावित समाचार