दोहामा उपप्रधानमन्त्री श्रेष्ठ भेटवार्तामा

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन कतारको दोहा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियनका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । सबै भेटवार्तामा नेपालसँग राष्ट्रसंघ र युरोपेली युनियनको सम्बन्ध, विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको नेपाललाई सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

श्रेष्ठले राष्ट्रसंघका उपमहासचिव रबाब फतिमा, राष्ट्रसंघीय महासचिवका प्रकोपजन्य जोखिम न्यूनीकरणसम्बन्धी विशेष प्रतिनिधि मामी मिजुतोरी, अन्तर्राष्ट्रिय साझेदारीसम्बन्धी युरोपियन युनियनका आयुक्त जुत्ता युरपिलाइनेन, राष्ट्रसंघीय सहायक महासचिव ओस्कार फर्नान्डेजसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

विकास लक्ष्य कार्यान्वयन, नेपालको विकासशील मुलुकमा स्तरोन्नतिलगायत द्विपक्षीय विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले ट्विटरमा जनाएको छ । श्रेष्ठले २० फागुनमा अति कम विकसित मुलुक (एलडिसी) हरूको सम्मेलनलाई दोहामा सम्बोधन गरेका थिए । उनले नेपाल तीन वर्षपछि विकासशील मुलुकमा स्तरोन्नति हुन लागेका सन्दर्भमा सबैसँग सहयोगका लागि आह्वान गरेका थिए । 

सुझावित समाचार