निदाएका वेला सास फेर्ने बाटो जति खुल्नुपर्ने हो, त्यति खुला भएन भने सास लिन अलि गाह्रो हुन्छ । त्यसपछि बल गरेर अक्सिजन तान्दा आउने आवाज नै घुर्ने समस्या हो ।
किन हुन्छ ?
मुख्यतः सास फेर्ने नलीमा भित्रपट्टि मासु पलाउँदा वा भित्रको मांसपेशीले काम नगर्दा घुर्ने समस्या हुन्छ । त्यसैगरी, मानिस मोटाउँदै जाँदा घाँटीमा बोसोको मात्रा बढेर सास फेर्ने ठाउँ साँघुरो हुन सक्छ र समस्या देखिन्छ ।
घुर्ने समस्या बालबालिकामा पनि हुन्छ । नाकको पछाडि भागमा हुने मासु बढ्यो भने बालबालिकामा घुर्ने समस्या देखिन सक्छ । त्यसैगरी, वयस्कहरूमा मोटोपनाका कारण यो समस्या हुन सक्छ । घुर्ने समस्याका कारण धेरै छन् । नाकको हड्डी बांगो भएमा, नाकको पछाडिको भाग सुन्निएमा, घाँटीमा टन्सिल भएमा, सास फेर्ने नली साँघुरो हुँदा घुर्ने समस्या देखिन्छ ।
के गर्ने ?
नियमित घुर्ने समस्या छ भने चिकित्सकको सल्लाहमा उपचार थाल्नुपर्छ । यो रोग लागेकाहरूलाई इन्डोस्कोपी गरेर छाती तथा मुटुको जाँच गर्ने गरिन्छ । त्यसैगरी, सुतेको वेलामा कस्तो समस्या आउँछ भनेर अस्पतालमा मेसिन लगाएर रातभर प्रविधिमार्फत जाँच पनि गरिन्छ । सामान्य वा जटिल कस्तो अवस्थाको समस्या छ भनेर पत्ता लगाइन्छ । त्यसअनुसार उपचार गरिन्छ । यो समस्या भएकाहरूले नियमित व्यायाम गर्ने, चिया, कफीबाट टाढा रहने गर्नुपर्छ ।