सानैदेखि सिकाउनुस् आत्मनिर्भर बन्ने कला

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

बच्चालाई अनिवार्य रूपमा राम्रो हेरचाह र उचित संस्कार दिनुपर्छ । यससँगै उनीहरूलाई आत्मनिर्भर बनाउन जरुरी छ । कतिपय बालबालिका किशोरावस्थासम्म पनि स–साना कामका लागि अभिभावकमा निर्भर हुन्छन् । यस्तो स्वभावले उनीहरूलाई नै भविष्यमा गएर घाटा हुन्छ । किनकि, आत्मनिर्भर हुन नसक्नेलाई अहिलेको प्रतिस्पर्धात्मक युग निकै चुनौतीपूर्ण छ ।

त्यसैले अभिभावकले बच्चालाई मायासँगै आत्मनिर्भर बनाउनका लागि केही स्वभावहरू सिकाउन जरुरी छ । सानो छँदा हरेक कुरामा बाबु–आमाले सहयोग गर्नुपर्ने भए पनि १२ वर्ष कटेपछि केही कुरा बच्चालाई आफैँ गर्न लगाउनुपर्छ । जसले उनीहरूमा आत्मनिर्भरताको विकास गराउँछ । बच्चालाई स्मार्ट बनाउन चाहनुहुन्छ भने उसलाई दैनिक प्रयोग हुने सामग्रीहरू पाउरोटी, दूध, कापी–कलम आदि किन्न सिकाउनुस् । पहिले यी सामग्री किन्दा उनीहरूलाई पनि लिएर जानुस् । बिस्तारै बच्चा एक्लै यस्ता सामग्री किन्नका लागि जान थाल्छ । त्यसपछि उसले बाहिरी दुनियाँ बुझ्न थाल्छ । सामान किन्दाको अनुभव हुन्छ र आत्मविश्वास पनि बढ्छ । 

१२ वर्ष पुगिसकेपछि बच्चालाई खाना पकाउन पनि सिकाउनुस् । चाउचाउ उमाल्न, अम्लेट बनाउन, दूध तातो बनाउन, पाउरोटीमा जाम लगाउन सिकाउन, चिया बनाउन सिकाउन सकिन्छ । भोक लागेपछि बच्चाले आफैँ बनाएर पनि खान सक्छ । 

सामान व्यवस्थित गर्न सिकाउनुस् 
बच्चालाई व्यवस्थित बन्न सिकाउनुपर्छ । यसले उनीहरूलाई आत्मविश्वासी र आत्मनिर्भर बनाउँछ । उनीहरूलाई आफ्नो कोठा, कपडा र आफ्ना सामान मिलाएर राख्न सिकाउनुस् । यस्तो स्वभावले उनीहरूलाई संयोजित बन्न सिकाउँछ र आफ्नो सामान कहाँ राखिएको छ भनेर पनि उनीहरूले सहजै पत्ता लगाउन सक्छन् । अभिभावक बाहिर भएको समय पनि उनीहरूलाई खासै समस्या हुँदैन । 

कपडाको जतन गर्न 
कपडाको जतन गर्न सिकाउनुपर्छ । फोहोर कपडा धुन, सुकाउन, आइरन गरिएका कपडालाई सम्हालेर राख्न सिकाउनुपर्छ । बच्चामा सफा कपडा मात्रै लगाउने बानीको विकास हुन्छ । यस्ता गतिविधिले उसको व्यक्तित्व सकारात्मक बनाउँदै लैजान्छ ।

कोठा सफा गर्न
बच्चाहरू प्रायः आफ्नो कोठामा चकचक गरिरहन्छन् । उनीहरूले अव्यवस्थित बनाएको कोठालाई बाबु–आमाले व्यवस्थित र सफा गर्छन् । बच्चालाई १२ वर्ष पुगेपछि आफ्नो कोठा सफा गर्न सिकाउनुपर्छ । त्यस्तै, कोठालाई व्यवस्थित गर्न र हरेक सामग्रीलाई सही ठाउँमा राख्न पनि सिकाउनुस् । 

शारीरिक गतिविधिमा प्रेरित गर्नुस् 
आजकलका बच्चा मोबाइल र ल्यापटपमा अत्यधिक झुम्मिने गरेका छन् । कतिपय अभिभावक घरमा अत्यधिक समय मोबाइल वा ल्यापटप चलाउँछन् र बच्चाले पनि त्यस्तै सिक्छन् । जसकारण, उनीहरूमा अल्छीपन बढ्ने, मोटोपन हुने, आँखा दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिने गरेको छ । यस्ता समस्याबाट टाढा राख्नका लागि पनि शारीरिक गतिविधिमा उनीहरूलाई संलग्न गराउनुपर्छ । 

बच्चालाई योग, ध्यान, संगीत तथा नृत्यमा पनि लगाउन सकिन्छ । यसले उनीहरूको व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्याउँछ । रुचिअनुसार फुटबल, क्रिकेट, कराँतेजस्ता खेल खेलाउन सकिन्छ । बच्चालाई आफ्नो निगरानीमा पार्कमा घुमाउन लैजाने तथा उनीहरूसँगै खेल खेल्ने गर्नुपर्छ । यस्तो हुँदा बिस्तारै बच्चाहरू खेल्नका लागि आफैँ निस्कन थाल्छन् । खेलकुदले उनीहरूको मानसिक र शारीरिक विकासमा ठूलो भूमिका खेल्छ । हड्डी र मांसपेशीहरू मजबुत बनाउँछ । व्यक्तित्व विकासमा सहयोग पुर्याउँछ । 

सुझावित समाचार