विदेशी पर्यटकलाई पदयात्रामा जाँदा गाइड अनिवार्य

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

यसअघि समूहमा पदयात्रामा जानेले एक हजारमै टिम्स कार्ड पाउने गरेकामा अब सबैखाले पर्यटकले प्रतिव्यक्ति दुई हजार तिर्नुपर्नेछ 

नेपाल पर्यटन बोर्ड (एनटिबी)ले १ अप्रिल २०२३ देखि लागू हुने गरी ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआइटी)’ बन्द गरेको छ । यो व्यवस्थासँगै विदेशी पर्यटकले अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्नेछ ।

नेपाल पर्यटन ऐन, २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’बमोजिम यस्तो व्यवस्था गरेको पर्यटन बोर्डले जनाएको छ । नेपालको साहसिक गन्तव्यहरूमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको बोर्डको भनाइ छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बिमासमेत गरिनेछ । पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर एक्लै पदयात्रामा जाँदा पर्यटक हराउने र असुरक्षित हुनेजस्ता समस्या आइरहेका थिए । 

पर्यटनमन्त्री सुदन किराँतीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक टे«ड युनियनका प्रतिनिधिबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआइटी)’ बन्द गर्ने निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिए । ‘यस विषयमा पहिलेदेखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्ने नै थियो,’ उनले भने, ‘हाम्रा गन्तव्यलाई सुरक्षित, उद्धारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको हो, यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्नेछ ।’ 

यो निर्णयसँगै नेपालमा ट्रेकिङ गाइडहरूको रोजगारीका साथै आयसमेत बढ्ने कार्यकारी निर्देशक रेग्मीले बताए । बोर्डको तथ्यांकअनुसार नेपालमा टे«किङ गर्न आउने कुल पर्यटकमध्ये ३० प्रतिशत एफआइटिवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो ।  

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ हजार हाराहारी पर्यटक ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआइटी)’का रूपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । बोर्डले एफआइटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेसमेत उनको भनाइ छ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति एक हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्नेछ । सार्क देशका नागरिकको हकमा यसअघि दुई सय रुपैयाँ लाग्ने गरेकोमा अब भने एक हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिए ।

See More On

सुझावित समाचार