नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको उनको आरोप छ। त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको उनको दाबी छ।
स्थानीय तह कर्मचारी संघ नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो। विदेशीहरूको खेलमैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,’ उनले भने।
प्रधानमन्त्री दाहालले भारतबाट आउने तरकारीहरूको चेकजाँच गर्नुनपर्ने आदेश दिएको भन्दै ओलीले आपत्ति जनाए। नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुसी पार्ने काममा सरकार लागि परेको उनको आरोप छ।