पौडेललाई निर्वाचित गर्न प्रदेश सांसदलाई आठ दलीय गठबन्धनको अभिमुखीकरण

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति चयनका लागि २५ फागुनमा हुने निर्वाचनलाई केन्द्रित गरेर आठ दलीय गठबन्धनले गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश सभा सदस्यहरुको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

आठ दलीय गठबन्धनले सवै प्रदेशका राजधानीमा आफ्ना पार्टीका प्रदेश सभा सदस्यहरुको लागि अभिमुखीकरणका क्रममा पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रममा शीर्ष नेताहरुले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिन प्रदेश सांसदहरुलाई आग्रह गरे ।

संविधानको पालना गदै अभिभावकीय भूमिका निर्वाह गर्ने राष्ट्रपति आवश्यक रहेकाले पौडेल नै उपयुक्त पात्र रहेको नेताहरुको तर्क छ । वर्तमान आठ दलीय गठबन्धन राष्ट्रपति निर्वाचनका लागि मात्र नभएको भन्दै उनीहरुले देशलाई स्थिरता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने लगायतका उद्देश्य पूरा गर्न समेत आवश्यक रहेको बताएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा आठ दलीय गठबन्धनमा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका आठ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङले देशमा आइपरेका समस्या समाधानका लागि गठबन्धन बनेको जिकिर गरे । उनले भने, ‘देशमा देखापरेका विविध समस्या समाधानको लागि आठ दलको गठबन्धन बनेको हो । यो २५ गते हुने निर्वाचनका लागि मात्र बनेको होइन । अरु दलहरु पनि थपिने प्रकृयामा छन् ।’

त्यसैगरी माओवादी केन्द्रका महासचिव देव गुरुङले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गदै देशलाई स्थिरता, स्थायित्व र आर्थिक विकास दिन अहिलेको गठबन्धन बनेको जिकिर गरे । ‘यो गठबन्धन २५ गते हुने निर्वाचनको लागि मात्र होइन । राष्ट्रपतिको निर्वाचनपछि हुने उपराष्ट्रपतिको निर्वाचनसँगै विभिन्न समयमा गरिएका आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गदै देशलाई स्थिरता, स्थायित्व, आर्थिक विकास, समृद्धिलगायतका लागि गठबन्धन बनेको हो,’ उनले भने ।

सुझावित समाचार