त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थीले देशभरिका क्याम्पसमा संगठन दर्ता गराउँँदै छन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी संगठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए । यस्तै, निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनेछन्।
यस्तै, स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।