निजी व्यवसायीलाई शौचालय प्रयोग गर्न दिन महानगरको पुनः आग्रह
काठमाडौं महानगरपालिकाले व्यक्तिका घर वा व्यावसायिक भवनमा रहेका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिन फेरि आग्रह गरेको छ । महानगरले यसअघि (१६ जेठ) गरेको आग्रहलाई स्विकार्दै आफ्नो शौचालयलाई निःशुल्क प्रयोग गर्न दिएकोमा आभार प्रकट पनि गरेको छ । ती व्यक्ति र संस्थालाई फेरि उक्त कार्यमा सहभागी हुन आग्रह गरेको हो । यसका लागि ती व्यक्ति, संस्था वा व्यवसायलाई सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरमा रहेको शौचालय अभाव टार्न यो सूचना जारी गरिएको हो । ‘भएका सार्वजनिक शौचालय अपुग छ । त्यसैले निजी घर वा व्यावसायिक संस्थालाई निःशुल्क शौचालय प्रयोग गर्न दिन आग्रह गरेका हौँ,’ प्रवक्ता मानन्धरले भने । हाल महानगरमा ३७ संघ संस्थाले सर्वसाधारणलाई निःशुल्क शौचालय प्रयोग गर्न दिइरहेका छन् । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघ–संस्थाका प्रतिनिधिसँग ८ असारमा महानगरले सम्झौता गरेको थियो ।
महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्–
कार्यपालिकाबाटै निर्णय गरेर शौचालय निर्माणको जिम्मा वडालाई दिएका हौँ । केन्द्रबाट शौचालय निर्माण हुँदा विभिन्न समस्या आयो । धेरै अवरोध भए । वडाध्यक्ष जनतासँग सबैभन्दा नजिक रहेर काम गर्ने, प्रत्यक्ष सम्पर्कमा रहने हुनाले वडालाई शौचालय निर्माणको जिम्मा दिएका हौँ ।
त्यसपछि नबिल बैंक, महालक्ष्मी विकास बैंकलगायत पाँच संघ–संस्थाले पनि निःशुल्क शौचालय सञ्चालन गर्ने गरी सम्झौता गरेपछि ३७ पुगेको हो । हाल ३७ संघ–संस्थाका एक सय २० स्थानका शाखामा सर्वसाधारणले निःशुल्क शौचालय प्रयोग गर्दै आएका छन् । ती संस्थाहरूले पाँच वर्षसम्म सेवा दिने गरी महानगरसँग सम्झौता गरेका छन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत–सम्भार, सरसफाइमा आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा पनि उनीहरूकै हुनेछ ।
शौचालय बनाउने जिम्मा वडालाई
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को स्वास्थ्य मापदण्डअनुसार जनसंख्याको चापअनुसार भिडभाड रहने सहरी क्षेत्रमा प्रत्येक तीन सय मिटरको दूरीमा सार्वजनिक शौचालय हुनुपर्छ । तर, काठमाडौं महानगरका कतिपय क्षेत्रका तीन किलोमिटरको फरकमा समेत यस्ता शौचालय भेटिँदैन । जसका कारण महानगरवासीले हैरानी व्यहोर्नुपरेको छ ।
तर, काठमाडौं महानगरपालिकाले भने महानगरवासीको यो समस्यालाई बेवास्ता गर्दै सार्वजनिक शौचालय निर्माणको जिम्मेवारी वडालाई दिएर पन्छिन थालेको छ । अघिल्लो महिना (माघ) बसेको महानगरको कार्यपालिका बैठकले वडा तहबाटै शौचालय निर्माण गर्ने निर्णयसमेत भइसकेको छ । ‘हामीले कार्यपालिकाबाटै निर्णय गरेर शौचालय निर्माणको जिम्मा वडालाई दिएका हौँ,’ महानगरका प्रवक्ता मानन्धरले भने, ‘केन्द्रबाट शौचालय निर्माण हुँदा विभिन्न समस्या आयो । शौचालय निर्माणमा धेरै अवरोध भए । वडाका जनप्रतिनिधि जनतासँग सबैभन्दा नजिक रहेर काम गर्ने, प्रत्यक्ष सम्पर्कमा रहने हुनाले वडालाई शौचालय निर्माणको जिम्मा दिएका हौँ ।’
महानगरले आर्थिक वर्ष ०७९/८० को बजेटमा सार्वजनिक र घुम्ती शौचालय निर्माण, मर्मत र सञ्चालनका लागि एक करोड विनियोजन गरेको छ । प्रवक्ता मानन्धरका अनुसार वडाबाहेक शौचालय निर्माणका लागि महानगरले निजी क्षेत्रसँग समेत समन्वय गर्नेछ । ‘निजी क्षेत्रले पनि हामीसँग सहकार्य गर्छौँ भनेर आइरहेका छन् । उहाँहरूसँग सहकार्य भए बचेको बजेट अर्को वर्ष खर्च गर्न सक्छौँ,’ उनले भने ।
महानगरमा कति छन् सार्वजनिक शौचालय ?
महानगरभित्र रहेका ५६ वटा सार्वजनिक शौचालयमध्ये हाल ३६ वटा मात्र सञ्चालनमा छन् । २० वटा शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा छन् । सञ्चालनमा रहेका ३६ मध्ये चार वटा स्मार्ट शौचालय हुन् । यो एरोसन ट्वाइलेट हबले बनाइदिएको हो । यी शौचालयमा स्वचालित बत्ती, हात सुकाउने मेसिन, स्यानिटरी प्याडसमेत उपलब्ध छ । साथै, प्याड डिस्पोज गर्ने मेसिन, झोला वा सामान राख्ने स्थान, बच्चाको डाइपर फेर्ने स्थान, बच्चालाई दूध चुसाउने स्थान, सेन्सरका आधारमा आफैँ फ्लस हुने व्यवस्था छ । शौचालय अपांगमैत्री, वातावरणमैत्री, लैंगिकमैत्री पनि छ । यी शौचालय काठमाडौंको स्वयम्भू, नयाँबानेश्वर, वडा २० को परोपकार र त्रिपुरेश्वरमा छ ।
कार्यपालिकाबाटै निर्णय गरेर शौचालय निर्माणको जिम्मा वडालाई दिएका हौँ । केन्द्रबाट शौचालय निर्माण हुँदा विभिन्न समस्या आयो । धेरै अवरोध भए । वडाध्यक्ष जनतासँग सबैभन्दा नजिक रहेर काम गर्ने, प्रत्यक्ष सम्पर्कमा रहने हुनाले वडालाई शौचालय निर्माणको जिम्मा दिएका हौँ ।