नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त रूपमा प्रदेश १ को नामकरणसम्बन्धी प्रस्ताव दर्ता गराएका छन्।
एकीकृत समाजवादी र जसपाले प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा नामकरण गरी प्रस्ताव दर्ता गराएका हुन्। यसको प्रस्तावकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राई र समर्थकमा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु र जसपाका निर्मला लिम्बू छन्।
यसअघि नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव दर्ता गराइसकेको छ। एमालेले कांग्रेस सांसद भूमिप्रसाद राजवंशीको समर्थनमा प्रस्ताव दर्ता गराएको छ। नेकपा माओवादी केन्द्रले पनि एमालेको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाइसकेको छ।
बुधबार दिउँसो बस्ने प्रदेश सभामा नामकरण टुंग्याउने गरी कार्यसूची तयार भएको छ। एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाए पनि प्रमुख तीन दलका नेता कोसी नामकरणमा सहमतिनजिक पुगेका छन्। यो सहमतिसँगै प्रदेशको नाम कोसीलाई सामान्य बहुमतले पारित गर्ने सम्भावना बढेको छ।
पहिलो कार्यकालमा आफ्नै स्वार्थको द्वन्द्वले गर्दा थाँती रहेको प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका थिए।
प्रदेशको नामकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार, संसदीय दल र पार्टीका केन्द्रीय नेताहरूको सर्वदलीय छलफल भएको थियो। 