प्रदेश १ : फुक्दै नामकरणकाे गाँठाे, ‘कोसी’ हुने सम्भावना बलियाे

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

प्रदेशको १ को नाम कोसी हुने सम्भावना बढेको छ। नेकपा एमालेले प्रस्ताव गर्दै आएको कोसीमा कांग्रेस र नेकपा माओवादी केन्द्रले सहमति जनाएको स्रोतले जानकारी दियो। 

एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाए पनि प्रमुख तीन दलबीच कोसीमा सहमति जुटेको ती नेताले बताए। योसँगै प्रदेशको नामकरण सामान्य महुमतले जारी हुने सम्भावना बढेको छ। 

पहिलो कार्यकालमा आफ्नै स्वार्थको द्वन्द्वले गर्दा थाँती रहेको प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र  आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका थिए। 

प्रदेशको नामकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार, संसदीय दल र पार्टीका केन्द्रीय नेताहरूको सर्वदलीय छलफल भएको थियो। 

छलफलमा सत्ताधारी दल एमालेका एकजना सांसदका अनुसार सर्वसम्मतले नाम टुंगो लगाउन दलहरूबीच  आज पनि छलफल भइरहेको छ। 

प्रदेश सभा सचिवालयका अनुसार आज बुधबार दिउँसो प्रदेश १ सभाको हिउँदे अधिवेशनको बैठक बस्दै छ। उक्त बैठकमा सरकारले प्रदेशको नाम प्रस्ताव टेबुल गर्नेछ। त्यसपछि नामकरणबारे बोल्न चाहने दलका नेता र सांसदलाई समय दिइनेछ । त्यसपछि संशोधनका लागि दुई घन्टा संसद्को बैठक स्थगित गरेर पुनः बैठक गरेर टेबल भएको नाम टुंगो लगाइनेछ।  

सुझावित समाचार