फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेको हो ।
सम्मेलनमा नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म र बृहत् मापन, स्टिल र सिमेन्ट उद्योगसँग सम्बन्धित प्रमुख सरकारी नीतिमाथि छलफल, स्पन्ज आइरनको भावी परिदृश्य, नेपाली सिमेन्ट उद्योगका लागि अवसरजस्ता विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै, गुणस्तरीय स्टिल उत्पादनको बढ्दो महत्व, स्टिल उद्योगले सामना गरिरहेको प्रमुख चुनौती, मार्जिन व्यवस्थापनका उपायका रूपमा गरिने ब्याकवार्ड इन्टेग्रेसन, नेपालमा कोइला आयातको अवस्था, चुनौती र अवसरमा केन्द्रित हुने आयोजकले जनाएका छन् ।
यसपालि नेपाल ट्रेड समिटको दोस्रो संस्करण हुन लागेको हो । स्टिलमिन्ट ग्रुपले यसअघि सन् २०१८ मा नेपाल ट्रेड समिट गरेको थियो । स्टिलमिन्ट ग्रुपले नेपाल, भारत, बंगलादेश, युएई र थाइल्यान्डमा गरी झन्डै डेढ दर्जन सेमिनार र सम्मेलन गरिसकेको जनाएको छ ।
सम्मेलनका वक्ताहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल रहने जनाइएको छ । त्यस्तै, विभिन्न व्यावसायिक घरानाका प्रतिनिधि तथा विदेशी ठूला कम्पनीका सञ्चालक पनि रहने जनाइएको छ ।
दुई सय ५० भन्दा बढी सहभागी हुने उक्त समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग रहेको जनाइएको छ ।