प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न सक्दैन : एमाले नेतृ तुम्बाहाम्फे

हिन्दुराष्ट्रको पक्षमा राप्रपालाई सहयोग हुँदैन

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी एमालेकी महिला नेतृ तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताएकी छिन् । डोल्पाको जिल्ला सदरमुकाम दुनैमा पत्रकारसँग भेटघाट गर्दै तुम्बाहाम्फेले यस्तो बताएकी हुन् ।

एमालेको बुझाइमा सबैभन्दा अस्थिर नेता प्रचण्ड भएको र अस्थिर नेताले नेतृत्व गरेको सरकारले नेपालका लागि निकास दिन नसक्ने उनले बताइन् । ‘केही समय सहकार्य गरेर सँगै बढ्दा जनताको हित हुन्छ कि भन्ने एमालेको धारणा थियो, तर प्रचण्डले धोका दिनुभयो, स्थिर मानसिकता बोकेको मान्छेलाई अघि बढाउनुपर्छ भन्ने एमालेको भनाइ हो,’ उनले भनिन् ।

ग्रासरुट सुदृढीकरण कार्यक्रममा डोल्पा पुगेकी डा. तुम्बाहाम्फेले नेकपा एमाले देशकै सबैभन्दा स्थापित पार्टी भएकाले अब एमालेको रणनीति पार्टी सुदृढीकरणमा केन्द्रित हुने बताइन् । संवैधानिक परिषदमा एमालेकै बहुमत रहेकाले अहिले सरकारलाई संवैधानिक नियुक्तमा असहजसमेत हुनेतर्फ उनले संकेत गरिन् ।

नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा एमालेले आफ्नोतर्फबाट उम्मेदवार मैदानमा उतारिसकेकाले त्यसको डटेर सामना गर्ने उनको भनाइ छ । निर्वाचन प्रक्रियामा जितहार हुने भएकाले यसमा कुनै नौलो नभएको उनले बताइन् । पत्रकारको अर्को प्रश्नमा नेकपा एमाले र राप्रपाको नीति, विधि र सिद्धान्त फरक भए पनि राष्ट्रिय हितका विषयमा सहकार्य भइरहने उनले बताइन् ।

यदि राप्रपाले उठाएको हिन्दू राष्ट्रको मुद्दामा एमालेको साथ–सहयोग हुन्छ कि हुन्न भन्ने पत्रकारको प्रश्नमा यसमा एमालेले कदापि सहयोग गर्न नसक्ने उनले बताइन् ।
 

सुझावित समाचार