पल्सर स्पोर्टस् अवार्ड १९औँ संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै लोकप्रिय खेल सम्मानको कुल ९ विधामध्ये वर्ष २०७८ को पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै वर्ष पुरुषमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ, अञ्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाल तथा महिला खेलाडीमा क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् ।
एनएसजेएफका सचिव अञ्जन खड्काको नेतृत्वमा रहेको पाँच सदस्यीय खेलाडी छनोट समितिले ०७८ मा उत्कृष्ट नतिजा दिलाएका खेलाडी र प्रशिक्षक छनोट गरेका हुन् । त्यस्तै, वर्ष युवा खेलाडीमा फुटबलका मनीष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी तथा वर्ष प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्लाह अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड आगामी फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ । यस वर्ष नौ विधामा अवार्ड प्रदान गरिनेछ भने जसमा पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसअन्तर्गत फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट मनोनयनमा परेका छन् । यसबाहेक अन्य विधा पाराएथलेटिक सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डको विजेता फागुन २३ गते नै सार्वजनिक गरिनेछ ।
वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मन पर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ । त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ ।