प्रधानमन्त्रीले गरे विकास हाइड्रोको उद्घाटन

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

गोरखाको उत्तरी भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेगावाटको उक्त आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयमा भएको एक समारोहमा विद्युत् आयोजनाको भर्चुअल रूपमा टर्बाइन सञ्चालन गरी उद्घाटन गरेका हुन् ।  

आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उनको भनाइ थियो 

आयोजनामा स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा प्रधानमन्त्रीले लगानीकर्तालाई धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्न गैरआवासीय नेपाली र स्थानीय लगानीकर्ताको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्दै एनआरएनएलाई थप लगानी गर्न आग्रह गरे । एक सय ३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माणका लागि सरकारले तत्काल काम सुरु गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले गोर्खाका विविध समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै एक सय ३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माण तत्कालै गर्नुपर्ने बताए । यसका लागि जग्गाको कुनै समस्या नरहेको जनाउँदै यो नबन्दा धेरै हाइड्रोहरूलाई समस्या भएको उनको भनाइ थियो ।

यस हाइड्रोमा गैरआवासीय नेपालीको ठूलो लगानी रहेको एनआरएनए आइसिसीका सचिव एवं हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । कम्पनीलाई आजको यस अवस्थासम्म ल्याइपुर्याउन सहयोग गर्ने सबैलाई उनले आभार प्रकट गरेका थिए । कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली संघका वर्तमान सचिव न्यौपाने तथा सञ्चालक समितिको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद घिमिरे, निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल, सुनील श्रेष्ठलगायतका युवा व्यवसायी रहेका छन् ।

गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बुढिगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋणमार्फत लगानी रहेको छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरि–बिक्री सम्झौताअनुुसार ०८० साल असार ३० गते विद्युत् उत्पादन सम्पन्न गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ६ महिनाअगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी उत्पादन सुरु गरेको छ ।

आयोजनाले निर्माण अवधिमा सो क्षेत्रका एक सय ५० भन्दा धेरै स्थानीयलाई रोजगारी प्रदान गरेको तथा आयोजना निर्माण सम्पन्नपश्चात् आयोजना सञ्चालनका लागि २० भन्दा माथि व्यक्तिहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीको अवसर प्रदान गरेको जनाएको छ ।

सुझावित समाचार