बजेट सिद्धान्तविपरीत ८५ अर्ब ६० करोडभन्दा बढी रकम परिचालन

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

सात महिनामा ४२ अर्ब थप स्रोत सुनिश्चितता, पौने २३ अर्ब रकमान्तर, २१ अर्ब थप निकासा

खर्च कटौती र मितव्ययिताको कार्यक्रम चलाइरहेको सरकारले पछिल्लो सात महिनामा भने सिद्धान्तविपरीत बढी रकम परिचालन गरेको भेटिएको छ । मंसिरमा भएको संघीय तथा प्रदेश निर्वाचनलाई लक्षित गरेर असोज र कात्तिकमा रकम बाँडिएको अर्थ मन्त्रालयको एक विवरणले देखाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो सात महिनामा ८५ अर्ब ६० करोडभन्दा बढी रकम बजेट सिद्धान्तविपरीत परिचालन भएका छन् ।  

सिद्धान्ततः बजेट जनप्रतिनिधिमूलक सर्वाेच्च संस्था संसद्बाट पारित गरेर ल्याइन्छ । सरकारले गर्ने आय–व्ययको हरहिसाब संसद्को अनुमोदनपछि मात्रै निर्धारण हुन्छ । तर, सरकारमा बस्ने राजनीतिक नेतृत्वले चुनावमा मतदाता रिझाउने गरी पैसा बाँड्न ढुकुटीमा दोहन गरेको पाइएको हो ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ६३ अर्ब एक करोड रुपैयाँबराबरको स्रोत सुनिश्चितता दिइएको छ । जसले गर्दा ४१ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी दायित्व सिर्जना भएको छ । चालू आर्थिक वर्षको बजेटमा त्यस्ता आयोजनाहरूका लागि २१ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कानुनी व्यवस्थाविपरीत बहुवर्षीय सहमति दिएको एवं स्रोत सुनिश्चितता दिएको रकम खर्च गर्न नसक्नाले दायित्व सिर्जना हुने महालेखा परीक्षकको कार्यालयको टिप्पणी छ । 

सहरी विकास मन्त्रालयको २७ आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८ आयोजनामा स्रोत सुनिश्चितता दिइएको छ । सहरीले तीन अर्बभन्दा बढी स्रोत सुनिश्चितता दिएको छ भने भौतिकले १९ अर्ब २१ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । 

यसरी विनियोजनभन्दा बढीको स्रोत सुनिश्चितता दिएर दायित्व सिर्जना मात्रै गर्ने काम गरेको भन्दै महालेखा परीक्षकको कार्यालयको ५५औँ प्रतिवेदनले यसलाई बजेट सिद्धान्तविपरीत ठहर गरेको थियो । ‘विद्यमान कानुनले स्रोत सुनिश्चितता गरेर काम गराउने परिकल्पना गरेको छैन,’ प्रतिवेदनमा उल्लेख छ, ‘बजेट सिद्धान्तविपरीत स्रोत सुनिश्चितताअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायलाई रकम तोकेर काम गराउँदै जाने र खर्चका लागि बजेट सुनिश्चित हुने व्यहोराको पत्र दिएको देखिन्छ ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बहुवर्षीय ठेक्कामा स्रोत सहमति दिने नाममा रकम बाँड्ने गरेको भन्दै अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आइरहेको छ । चुनावमा मतदाता प्रभावित पार्न सरकारले बजेट प्रणालीको आधारभूत सिद्धान्तकै धज्जी उडाएको अर्थशास्त्रीहरूको भनाइ छ । बजेटको अनुशासनभन्दा बाहिर गएर सरकारले आफूखुसी खर्च गर्दा पनि संसद् निरीह बनेको अर्थशास्त्री डिल्लीराज खनालको भनाइ छ । ‘यो त बजेट प्रणाली नै भएन । सरासर विसंगति हो । सरकार आफैँले मनपरी बजेट तोडमोड गर्ने हो भने संसदीय अभ्यासको के अर्थ भयो ?’ उनले भने, ‘बजेटमा नराखेको रकम बहुवर्षीय ठेक्काको नाममा स्रोत सहमति दिँदै जाँदा दायित्व बढ्दै गइरहेको छ । स्रोतको हेक्का नराखी दायित्व मात्रै बढाउँदै जाने हो भने बजेट कसरी कार्यान्वयन हुन्छ ? सरकार कानुनभन्दा पर बसेको देखियो । मध्यकालीन खर्च संरचना बनाएको पनि यसका लागि हो । बहुवर्षीय ठेक्काको नाममा बजेटमाथि ज्यादतीको अन्त्य नभएसम्म बजेट कार्यान्वयनको समस्या कहिल्यै सुल्झिने देखिँदैन ।’ गत आर्थिक वर्षमा यस्तो सहमति ८८ अर्ब ७२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा एक खर्ब ५४ करोड रुपैयाँ थियो ।

चुनावको मुखमा पैसा बाँडियो
स्रोत सुनिश्चितता गरेर पैसा बाँड्ने गतिविधि चुनावकै समयमा बढी भएको देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा पनि स्रोत सुनिश्चितताअन्तर्गत पटके निर्णयका आधारमा स्रोत २३ करोड ६० लाख दायित्व सिर्जना भएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको थियो । चालू आर्थिक वर्षमा पनि सोही वर्षकै प्रवृत्ति दोहोरिएको छ । तर, यसपालि चुनावमा भने अर्बाैँ रकमको दायित्व सिर्जना भएको छ । मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर असोज र कात्तिकमा नै २३ अर्ब ७६ करोड रुपैयाँ स्रोत सहमति दिएको पाइएको छ । गत माघसम्मको विवरणअनुसार सबैभन्दा बढी स्रोत सहमति असोज र कात्तिकमा भएको देखिन्छ । असोजमा एक अर्ब ९० करोड बजेट विनियोजन गरिएका आयोजनामा १० अर्ब ४६ करोडको स्रोत सहमति दिएको र कात्तिकमा तीन अर्बको आयोजनाका लागि १३ अर्ब ३० करोडको स्रोत सहमति दिएको देखिन्छ ।  

२१ अर्बभन्दा बढी निकासा
साधारणतया भइपरिआउने शीर्षकमा खर्च गर्न बजेटमा एकमुष्ट रूपमा विविध शीर्षकमा छुट्याइन्छ । महालेखा परीक्षकको कार्यालयले यस्तो शीर्षकलाई पनि बजेटको सिद्धान्तभन्दा बाहिर मानेको छ । आव ०७३/७४ मा पनि अर्थ मन्त्रालयले त्यस्तो शीर्षकमा एकमुष्ट राखिएको रकमलाई विभिन्न आयोजना तथा कार्यक्रममा ३२ अर्ब ५५ करोड रुपैयाँ निकासा गरिएको थियो । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले यस्तो शीर्षकबाट २१ अर्ब २० करोड रुपैयाँ निकासा दिएको छ । यो रकम पनि चुनावलक्षित गरेर कात्तिकमा १७ अर्ब ३० करोड रुपैयाँ निकासा दिएको देखिन्छ । 

२२ अर्बभन्दा बढीको रकमान्तर
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले पहिलो त्रैमास नसकिएसम्म रकमान्तर गर्न नपाउने व्यवस्था छ । सामान्यतयाः आर्थिक वर्षको अर्धवार्षिक समीक्षापछि अर्थात् चैत लागेपछि मात्रै रकमान्तर गर्ने प्रचलन रहे पनि यसपालि दोस्रो त्रैमासमै ठूलो मात्रामा रकमान्तर भएको छ । एक करोड रुपैयाँभन्दा बढी रकमबराबरका कार्यक्रममा २२ अर्ब ७४ करोड रुपैयाँ रकमान्तर भएको छ । सबैभन्दा बढी पुसमा २२ अर्ब दुई करोड रुपैयाँ रकमान्तर भएको देखिन्छ । 

पाँच करोड बाँडियो
साउनदेखि माघसम्म लगातार सरकारले पाँच करोड ४६ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता दिएको देखिन्छ । यसरी सहायता लिनेमा पूर्वराष्ट्रपति, प्रधानमन्त्री, चर्चित नेता तथा गायक पनि छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले २५ लाख रुपैयाँ सहायता लिएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन् । भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले २७ लाख रुपैयाँ लिएका छन् । त्यस्तै, मकवानपुर नेपाली कांग्रेसका नेता रघुरमण न्यौपानेले पनि आर्थिक सहायता लिएका छन् । यस्तो सहायता मन्त्रिपरिषद्बाट निर्णय गराएर उपलब्ध गराउँदै आइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

सुझावित समाचार