पपुवा न्युगिनीको पाँचौँ विकेट गुम्यो, डेब्युमै प्रतिशले लिए विकेट

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण
पपुवा न्युगिनीको पाँचौँ विकेट गुम्यो, डेब्युमै प्रतिशले लिए विकेट

तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)

आइसिसी पुरुष विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्युनिगीले लगातार अन्तरमा विकेट गुमाएको छ । 

भर्खरै उसले पाँचौँ विकेट गुमाएको छ । एकदिवसीय क्रिकेटमा डेब्यु गरिरहेका प्रतिश जिसीले करिअरको पहिलो विकेट लिए । 

उनले मध्यक्रमका ब्याटर हिरी हिरीलाई दीपेन्द्रसिंह ऐरीको हातबाट आउट गराए । हिरीले १७ बलमा १० रन बनाए । 

ताजा अवस्थामा पपुवा न्युनिगीले ३६ ओभरमा पाँच विकेटको क्षतिमा एक सय २८ रन बनाएको छ । 

यसअघि गुल्सन झाले तीन विकेट तथा सोमपाल कामीले एक विकेट लिइसकेका छन् । 

२७औँ ओभरको पाँचाैँ बलमा गुल्सनले चार्ल्स अमिनीलाई प्रतिश जिसीको हातबाट आउट गराएका थिए । यसअघि गुल्सनले नै मिडल अर्डरका ब्याटर सेसे बाउलाई ३१ रनमा बोल्ड गरेका थिए । सेसेले ५५ बलको सामना गरेपछि विकेट गुमाए । 

गुल्सनले नै नेपालका लागि दोस्रो सफलता दिलाएका थिए । १७औँ ओभरको चौथो बलमा उनले ५९ बलमा २९ रन बनाएर खेलिरहेका केप्लिन डोरेगालाई आउट गरेका थिए ।

त्यसअघि चौथो ओभरको पहिलो बलमा नेपालका स्ट्राइक सिमर सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर ब्याटर टोनी उरालाई बोल्ड गरे । 

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको हो । सोमपाल, करण केसी, दीपेन्द्रसिंह ऐरीले पनि निकै कसिलो बलिङ गरिरहेका छन् । 

नेपालले आज चारजना सिमरलाई मैदानमा उतारेको छ । सोमपाल, करणसँगै आजै एकदिवसीयमा डेब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसीले पनि बलिङ कमान्ड सम्हालेका छन् ।

सुझावित समाचार