लाफिङ तिब्बती खाना हो । नेपालमा पनि यसको स्वादलाई धेरैले लामो समयदेखि मन पराउँदै आएका छन् । केही सामग्रीको जोहो गरेर घरमै स्वादिष्ट लाफिङ तयार गर्न सकिन्छ ।
विधि
एक किलो मैदाको पिठोलाई आधा लिटर पानी हालेर मुछ्नुस् र डो बनाउनुस् । डोलाई चार घन्टाजति एक लिटर पानीमा डुबाएर राख्नुस् । त्यसपछि मज्जाले मुछ्नुस् । यसरी मुछ्दा ग्लुटिन (छोक्रा) र स्ट्राच (दूधजस्तो पानी) निस्कन्छ । त्यसपछि स्ट्राचलाई सानो प्लेटमा फिँजाउने र प्लेटलाई स्टिमरमा हाल्ने, त्यसलाई तीन मिनेटजति स्टिम गरेपछि जमेर पातलो रोटीजस्तो (सिट) बन्छ । ग्लुटिनलाई पनि स्टिम गरी पकाउने र एक साइडमा राख्ने । यसरी लाफिङको सिट र ग्लुटिन तयार भएपछि लाफिङ सस बनाउनतिर लाग्नुपर्छ ।
लाफिङको सस बनाउन दुई चिया चम्चा सुकेको खुर्सानी पिसेको, दुई चम्चा भुटेको तिल, चिल्ली आयल, तिलको तेल, सोया सस, मसिनो गरी काटेको हरियो प्याज, नुन, लेमन या भिनेगर, अदुवा, लसुन, चिल्ली पेस्ट हालेर मिसाउने । त्यसपछि तिलको तेल मज्जाले तताएर झान्ने, लाफिङ सस तयार हुन्छ । यसरी तयार भएको ससलाई एक साइडमा सुरक्षित राख्नुस् । यसअघि नै बनाएकोे लाफिङ सिटमा बफ्याएको मैदाको ग्लुटिनलाई स्टफ गरेर राम्रोसँग बेर्नुहोस् । यसपछि लाफिङको रोललाई काटेर माथिबाट सस हालेर खान सकिन्छ ।