सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

 क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आइतबार बहस नसकिएपछि सर्वाेच्च अदालतले हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ । यससम्बन्धी दुई मुद्दामा एकैपटक सुनुवाइ गर्ने शुक्रबारको आदेशअनुसार आइतबारदेखि न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले महान्यायाधिवक्ता कार्यालय र लामिछानेको दुवै निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ सुरु गरेको हो । 

लामिछानेले आफू क्रिकेट खेल्न विदेश जानुपर्ने मागसहित तथा महान्यायाधिवक्ता कार्यालयले उनलाई थुनामा राख्नुपर्ने भन्दै सर्वाेच्चमा निवेदन दिएका छन् । जसलाई अग्राधिकार दिएर सर्वाेच्चले सुनुवाइ सुरु गरेको हो ।

जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेलाई अदालतले विदेश जान रोक लगाउनुका साथै उपत्यकाबाहिर जान पनि प्रहरीको सहमति चाहिने सर्त तोकेको थियो । त्यसविरुद्ध उनले गत ११ फागुनमा सर्वाेच्चमा रिट निवेदन दर्ता गरी संयुक्त अरब इमिरेट्समा हुन लागेको खेलमा आफूलाई जान दिनुपर्ने माग गरेका थिए ।

गत २८ पुसमा सन्दीपलाई उच्च अदालतले सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यसउपर महान्यायाधिवक्ता कार्यालयले उनलाई थुनामै राख्नुपर्ने मागसहित सर्वाेच्चमा निवेदन दिएको छ । उनीविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन नै छ ।

See More On

सुझावित समाचार