इसपको तर्क

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

प्राचीन युनानमा एक धनाढ्य बस्थे । उनका साथमा एक इसप नामका बुद्धिमान् दास थिए । एकपटक धनाढ्य मालिकले इसपसित भने— इसप, म ढुंगेधारामा नुहाउन जान चाहन्छु । त्यहाँ भिड हुन सक्छ । त्यहाँ गएर पालो कुरिरहनुभन्दा तिमी पहिले त्यहाँ जाऊ र हेरेर आऊ त ! मालिकको आदेश पाउनासाथ इसप ढुंगेधारामा पुगेर फर्किए । उनले माकिलाई भने— मालिक धारामा त एकजना मात्र मानिस छन् । इसपको कुरा सुनेर मालिक धारातिर लागे । 

इसप पनि उनका नुहाउने साधन र फेर्ने लुगा बोकेर सँगै गए । एकैछिनमा दुवै ढुंगेधारामा पुगे । त्यहाँ निकै लामो लाइन थियो । लाइन देख्दा मालिक छक्क परे । उनले इसपसित प्रश्न गरे– तिमीले त एकजना मात्र छन् भनेको होइन ? लाइन त निकै लामो देखिन्छ त ! मालिकको प्रश्न सुनेर इसपले भने– मालिक मैले त अझै पनि यहाँ एकजना मात्र मानिस देखिरहेको छु । मालिक थप छक्क परे । उनले यसको कारण बुझ्न खोजे । 

मालिकको जिज्ञासा सुनिसकेपछि इसपले भने– मालिक, म आउँदा यहाँको बाटामा निकै ठूलो ढुंगो थियो । त्यसले बाटामा हिँड्ने सबै मानिसलाई सताइरहेको थियो । धारामा आउने सबै मानिसलाई ढुंगाका कारण चोट लागिरहेको थियो । तर, कसैले पनि त्यसलाई हटाउन आवश्यक ठानेनन् । तर, एक व्यक्तिले आफ्नो पूर्णशक्ति लगाएर त्यो ढुंगा बाटोबाट हटाइछाडे । ती व्यक्ति अझै यहीँ छन् ।

मालिक, भिडमा उपस्थित सबै स्वार्थी र विवेकहीन छन् । ढुंगाले सबैलाई चोट पुर्याइरहेको थियो । तर, तिनै एक व्यक्तिमा मात्र त्यो ढुंगा हटाउने विचार आयो । उनले त्यसलाई हटाउनुलाई आफ्नो मुख्य दायित्व ठाने । त्यसैले, मैले त तिनै एकजनालाई मात्र मानिस ठानेँ । त्यसैले, मैले हजुरलाई धारामा एकजना मात्र मानिस छन् भनेको हुँ । इसपको जवाफ सुनेर मालिकले भने– तिमीले एकदम ठीक भन्यौ इसप !

सुझावित समाचार