साढे चार महिनापछि काठमाडौंमा हल्का वर्षा

तीनमहिने हिउँदेयाममा काठमाडौंमा औसत ४६.६ मिलिमिटर वर्षा हुनुपर्ने हो । तर, हिउँद मात्र होइन, त्यसअघिको ‘पोस्टमनसुन’मा पनि पानी परेन । हिउँद सकिन दुई दिन मात्र बाँकी रहँदा आइतबार फाटफुट पानी पर्दा उपत्यकाको तुवाँलो र वायु प्रदूषण केही घटेको छ ।

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण
साढे चार महिनापछि काठमाडौंमा हल्का वर्षा

आइतबार काठमाडौंमा परेको वर्षा । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आइतबार हल्का वर्षा भएको छ । यसअघि २८ असोजमा ०.५ मिलिमिटर मात्र वर्षा भएको थियो । देशका अधिकांश क्षेत्रमा हिउँदेयाम सुक्खा रहे पनि पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको थियो । तीनमहिने हिउँदेयाममा काठमाडौंमा औसत ४६.६ मिलिमिटर वर्षा हुनुपर्ने हो । तर, हिउँद मात्र होइन, त्यसअघिको ‘पोस्टमनसुन’मा पनि पानी परेन । हिउँद सकिन दुई दिन मात्र बाँकी रहँदा आइतबार फाटफुट पानी पर्दा उपत्यकाको तुवाँलो र वायुप्रदूषण केही घटेको छ । 

वातावरण विभागको खुमलटारस्थित वायुप्रदूषण मापन केन्द्रमा आइतबार दिउँसो वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलर म्याटर) १३७.५३ माइक्रोग्राम प्रतिघनमिटर पुगेकामा वर्षापश्चात् घटेर ६९.३० मा सीमित भएको छ । यद्यपि, यो मात्रा पनि अस्वस्थकर नै मानिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वर्षा मापन केन्द्रमा २.८ मिलिमिटर वर्षा मापन भएको छ, जुन हल्का वर्षा मानिन्छ । फेब्रुअरीभरि काठमाडौंको औसत वर्षा २३.६ मिलिमिटर हो । ‘यो हिउँद देशभर नै सुक्खा रह्यो, काठमाडौंमा त हिउँदको अन्त्यमा मात्र पानी परेको छ,’ महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन् । 

काठमाडौंनजिकैका नगरकोटमा २०.४, कीर्तिपुरमा १५.६ र खुमलटारमा १.२ मिलिमिटर वर्षा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक नगरकोट, कीर्तिपुर र खुमलटारको वर्षा मापन केन्द्र स्वचालित हुन् । जल तथा मौसम विज्ञान विभागले अन्तर्राष्ट्रिय विमानस्थलस्थित मापन केन्द्रको वर्षा मापनबाट काठमाडौंको औसत वर्षा निकाल्ने गर्छ ।

आज पहाडी भेगमा वर्षाको सम्भावना
महाशाखाका अनुसार सोमबार देशका पहाडी भेगमा वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । हिउँदयाम सकिनै लाग्दा चट्याङ पनि पर्न थालेको हो ।

प्रिमनसुनमा मेघगर्जनसहित चट्याङ पर्ने र हावाहुरी चल्ने हुन्छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ । ‘आइतबारभन्दा सोमबार यसको प्रभाव कम पर्ने देखिन्छ,’ उनले भनिन् ।

 कहाँ–कहाँ पर्‍यो पानी ? :  पछिल्लो २४ घन्टामा प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगमा हल्का वर्षा भएको छ । यी क्षेत्रमा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी पोखरामा ३०.७ मिलिमिटर वर्षा मापन भएको छ । बागलुङ, स्याङ्जा, गोरखा, तनहुँ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, ओखलढुंगा, ताप्लेजुङलगायत क्षेत्रमा वर्षा भएको छ । 

See More On

सुझावित समाचार