८० हजार लिटर डिजेलमा ‘मट्टीतेल’ मिसावट

आइओसीको सिलगुडी डिपोबाट चारवटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट भेटिएपछि छानबिन हुँदै

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोबाट ल्याइएको ८० हजार लिटर डिजेल मिसावटयुक्त भेटिएको छ । प्रारम्भिक जाँचबुझ गर्दा डिजेलमा मट्टीतेल मिसाइएको आशंका छ । १० फागुनमा सिलगुडी डिपोबाट २० हजार लिटरका दरले डिजेल लिएर चार ट्यांकर निगमको झापास्थित चारआली शाखा कार्यालयमा आएका थिए ।

नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना.७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सको नाममा रहेको ना.७ख ६९७४ नम्बरको ट्यांकरमा आएको कुल ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको आयल निगमले जनाएको छ । 

निगमको चारआलीस्थित शाखा कार्यालयको पार्किङस्थलमा राखिएका ट्यांकरको प्रत्येक चेम्बरमा रहेको डिजेलको नमुना परीक्षण गर्दा घनत्व तोकिएको दरभन्दा धेरै अन्तरले फरक परेको थियो । त्यसपछि चारवटै ट्यांकरको तेलको गुणस्तरमा फरक परेको व्यहोरा केन्द्रीय कार्यालयमा जानकारी गराएको चारआली कार्यालय प्रमुख भीम विकले बताए ।
‘चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेल मिसावटयुक्त भेटिएकोबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएको छु,’ उनले भने ।

केन्द्रीय कार्यालयमा गरिएको पत्राचारअनुसार १० फागुनमा आइओसीको सिलगुडी डिपोमा मे.१ख २१४९ नम्बरको ट्यांकरमा २० हजार लिटर डिजेल लोड गरिएको थियो । सिलगुडी डिपोमा उक्त ट्यांकरमा रहेको डिजेलको घनत्व आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । करिब ५० किलोमिटर दूरी पार गरेर चारआली (झापा)स्थित निगमको शाखा कार्यालय आएको सोही ट्यांकरको डिजेलको घनत्व मापन गर्दा आठ सय १३ किलो प्रतिघनमिटर पाइएको थियो । निगमले २.५ किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ । तर, १६ किलो प्रतिघनमिटरको घनत्व फरक आउनु अस्वाभाविक भएको निगमको भनाइ छ ।

त्यसैगरी, अर्को ट्यांकरमा रहेको डिजेलमा आइओसीको सिलगुडी डिपोले आठ सय २५ किलो प्रतिघनमिटर घनत्व मापन गरेकोमा निगमको चारआली कार्यालयमा परीक्षण गर्दा आठ सय १२ किलो प्रतिघनमिटर मात्र घनत्व पाइएको थियो । आयल निगमले आयात गर्ने डिजेलको घनत्व सामान्यतया आठ सय २० देखि आठ सय ५० किलो प्रतिघनमिटर हुने गर्छ । तर, समातिएका चारवटै ट्यांकरको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टीतेल मिसावटको आशंका गरिएको छ । किनभने, मट्टीतेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्छ । डिजेलको भन्दा न्यून घनत्व भएको मट्टीतेल सजिलै मिसावटसमेत हुने गर्छ । 

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्याय भन्छन् – झापाका पेट्रोलपम्पलाई वितरण गर्ने गरी भित्रिएको डिजेलमा अस्वाभाविक दरले अन्य कुनै वस्तु मिसावट भएको जानकारी प्राप्त भएको छ  । त्यसबारे छानबिनका लागि समिति बनाएर झापा पठाएका छौँ । 

निगम प्रवक्ता विनीतमणि उपाध्यायले झापाका पेट्रोलपम्पलाई वितरण गर्ने गरी भित्रिएको डिजेलमा अस्वाभाविक दरले अन्य कुनै वस्तु मिसावट भएको जानकारी प्राप्त भएको र छानबिनका लागि समिति बनाएको जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत प्रबन्धक कमला न्यौपाने नेतृत्वमा गठित छानबिन समिति शनिबार साँझ झापा पुगिसकेको छ । 

समितिमा निगमको १ नम्बर प्र्रादेशिक कार्यालय, विराटनगरमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् । समिति संयोजक न्यौपानेले चाँडै छानबिन सकाएर सत्यतथ्य बाहिर ल्याउने बताइन् । ‘साँझ मात्रै झापा पुगेका छौँ, अब छानबिन सुरु गर्छौँ,’ उनले भनिन् ।

यसअघिका घटनामा ट्यांकरको एक–दुईवटा चेम्बरमा रहेको तेलमा मिसावट हुने गरेको भेटिएको थियो । पछिल्लोपटक ०७७ असोजमा आइओसीको बरौनी रिफाइनरीबाट अमलेखगन्ज आएको तीन ट्यांकर र काठमाडौंको थानकोट आएको एउटा ट्यांकरमा ल्याएको पेट्रोलमा मिसावट पाइएको थियो । त्यतिखेर चारवटै ट्यांकरमा रहेको ८० हजार लिटर पेट्रोलमध्ये ३६ हजार लिटरमा मात्र मिसावट पुष्टि भएको थियो । ३६ हजार लिटर पेट्रोलमा नौ हजार लिटर मट्टीतेल र पेन्ट्समा प्रयोग गरिने गुणस्तरहीन ‘मिनरल टर्पेन्टाइन आयल’ मिसावट भएको पाइएको थियो । यसपटक भने ट्यांकरमा आएको सबै तेलमा मिसावट भेटिएकाले सूक्ष्म अध्ययन गर्न छानबिन टोलीलाई जिम्मेवारी दिएको प्रवक्ता उपाध्यायले बताए ।

 भारततिरै मिसावट गरिएको आशंका
नेपाल–भारत सीमावर्ती मेची पुलबाट करिब १५ किलोमिटरको दूरीमा निगमको चारआली शाखा कार्यालय छ । व्यस्त पूर्व–पश्चिम राजमार्ग हुँदै ट्यांकर गुड्ने भएकाले नेपालपट्टि मिसावट हुने सम्भावना कमजोर छ । भारतपट्टि भने करिब ३५ किलोमिटरको दूरी छ । भारतमा कोटाको मट्टीतेलसमेत पेट्रोलपम्पमा ‘गोप्य’ रूपले पाइने गरिएको छ । कोटामा पाइने यस्तै मट्टीतेल भारतीय पेट्रोलपम्पबाट वा कुनै बिचौलियाबाट खरिद गरी चालकले डिजेलमा मिसावट गरेको हुन सक्ने निगम अधिकारीको भनाइ छ ।

नेपालमा डिजेल र मट्टीतेलको मूल्य एउटै भए पनि भारतमा डिजेलभन्दा मट्टीतेलको मूल्य सस्तो छ । सिलगुडीमा शनिबार डिजेलको मूल्य ९२.७४ भारु प्रतिलिटर तोकिएको छ । डिजेलभन्दा कोटाको मट्टीतेल ६३ भारु र सामान्य मट्टीतेल करिब २२ भारु सस्तो छ ।

‘भारतमा डिजेलभन्दा मट्टीतेलको मूल्य प्रतिलिटर कम्तीमा ३० रुपैयाँसम्म सस्तो छ । त्यसैले डिजेलको केही परिमाण झिकेर बेच्ने र सस्तो मूल्यको मट्टीतेल मिसाएर ल्याएको हुन सक्ने आशंका छ,’ स्रोतले भन्यो । मिसावट गरिएका चारवटै ट्यांकरमा प्रयोग गरिएको आधुनिक लकिङ भने यथावत् देखिएको छ । तेल मिसावटका लागि प्रत्येक चेम्बरको ढक्कन खोल्न र लगाउन लकिङ खोल्नुपर्ने र त्यसका लागि लकिङ तोड्नुपर्ने हुन्छ । किनभने लकिङ खोल्ने साँचो निगमको डिपोमा मात्र हुन्छ । तर, लकिङ नतोडी तेलमा मिसावट भएको ट्यांकर फेला परेपछि निगम कर्मचारी झस्किएका छन् । आयल निगम प्रवक्ता विनीतमणि उपाध्यायले मिसावट र लकिङका विषयमा छानबिन समितिले प्रतिवेदन दिएपछि सत्य बाहिर आउने बताए ।

कर्मचारी र पेट्रोलपम्प व्यवसायीको मिलेमतोमा मिसावटको आशंका
निगमको चारआली (झापा)स्थित शाखा कार्यालयमा इन्धन भण्डारणगृह छैन । त्यसैले आइओसीको सिलगुडी डिपोबाट तेल लिएर आएको ट्यांकरलाई पार्किङस्थलमा खडा गरेर सामान्य गुणस्तर परीक्षण गरी सोझै पेट्रोलपम्पमा पठाइने गरिएको छ ।

 चारआली कार्यालयमा पेट्रोलपम्प सञ्चालकले नै इन्धन ढुवानी गर्ने बहुसंख्यक ट्यांकर करारमा लगाएका छन् । पम्प सञ्चालकले नै आइओसीको सिलगुडीबाट तेल ल्याउने र निगम कार्यालयमा सामान्य परीक्षण गराई आफ्नै पम्पसम्म डिजेल–पेट्रोल ओसार्ने गरेका छन् । आफ्नै पम्पका लागि तेल ल्याउने भएकाले ठूलो परिमाणमा मिसावट गर्न पम्प व्यवसायीले हिम्मत गरेको हुन सक्ने निगम अधिकारीहरूको भनाइ छ । किनभने पम्पमा आइसकेको तेलबारे कुनै गुनासो वा उजुरी भए मात्र गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने गरेको छ । नत्र, निर्वाध बिक्री हुने गर्छ ।

पम्प व्यवसायीको यस्तो हर्कतलाई आर्थिक प्रलोभनमा परी निगमको चारआली कार्यालयदेखि विराटनगर कार्यालयसम्मका कर्मचारीले साथ दिएको हुन सक्ने स्रोतको भनाइ छ । यसपटक समातिएका ट्यांकरको सबै पाँचवटै च्याम्बरमा मिसावटयुक्त डिजेल भेटिएपछि केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू अचम्मित छन् । किनभने यसअघिका घटनामा कुनै एक–दुई च्याम्बरमा मात्र मिसावटयुक्त तेल भेटिने गरेको थियो ।  ‘एउटा ट्यांकरमा ल्याएको सबै तेलमा मिसावट भेटिनु अचम्मको कुरा हो,’ निगमका एक अधिकारी भन्छन्, ‘अझ भण्डारणगृह नभएको कार्यालयमा यस्तो अपराध गर्न सहज हुन्छ । त्यसैले यस्तो अपराधमा पेट्रोलपम्प सञ्चालक र हाम्रै कर्मचारीको गडबढी छ कि भन्ने कुरामा धेरै आशंका छ ।’

सुझावित समाचार