शान्ति प्रक्रियालाई परिणाममा पुर्‍याउने एजेन्डा बनाउनुपर्छ : रामचन्द्र पौडेल

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। शनिबार नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शान्ति प्रक्रियालाई परिणाममा पुर्याएर मुलुकमा सुशासन कायम गर्ने कामलाई एजेन्डाको रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा छ। उनले देशमा लोकतन्त्र आइसकेपछि गाउँ–गाउँमा विकास पुगेको उल्लेख गर्दै ती कामहरू केही पनि होइनन् भनेर नजरअन्दाज गर्नु नहुने बताए। देशको संविधान र गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा उनको जोड थियो।

‘आज आएर कुनै पनि गाउँ छैन जहाँ यातायातको सुविधा पाएका छैनौँ। जनताको थाप्लोको नाम्लोको भार बिसाएको छ। यो प्रजातन्त्रको देन हो। बहुदलको देन हो। लोकतन्त्रको देन हो। यसलाई केही पनि होइन भनेर आज फेरि १७ सालका भाषाहरू जो प्रयोग हुँदै छन्, ती नेपाली जनताले सहन सक्ने विषय पनि होइनन्। यतापट्टि हामी सावधान पनि हुनुपर्छ,’ पौडेलले भने।

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिमा राष्ट्रवादलाई प्रजातन्त्रको विरुद्धमा प्रयोग गर्न खोजिएको बताए। राष्ट्रवादको नारा खेती गर्ने विषय नभएको भन्दै उनले अलोकतान्त्रिक शक्तिहरूले लोकतन्त्रवादीहरूलाई अराष्ट्रवादी भनेकोमा असन्तुष्टि व्यक्त गरे।

सुझावित समाचार