केही वर्षयता नेपाली राष्ट्रिय महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रभुत्व जमाइरहेको छ । एभिसी सेन्ट्रल जोनको उपाधि नेपालले ऐतिहासिक रूपमा जित्यो । नेपालको यो अद्भुत सफलतामा धेरै खेलाडीको योगदान उत्तिकै छ । तर, विशेष गरी अलराउन्ड भूमिका निर्वाह गरेकी उषा भण्डारीले नेपाललाई ऐतिहासिक ट्रफी दिलाउन त्यतिकै मिहिनेत गरेकी थिइन् ।
सन् २०१९ मा उनी केवल १४ वर्षको उमेरमै राष्ट्रिय टिममा परिन् । नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले भलिबलतर्फ रजत जित्यो । सानै उमेरमा उनी सागकै रजत पदक खेलाडी बनिन् । अन्तर्राष्ट्रिय भलिबल कोर्टमा मात्र होइन, उनी घरेलु प्रतियोगितामा समेत उत्तिकै छाएकी छिन् । नेपाल पुलिसबाट खेल्ने उषा मुख्य गरी ओपन स्पाइकरको भूमिकामा खेल्छिन् । पुलिसले पछिल्लो समय प्राप्त गरेका सफलतामा उनी एक प्रमुख खेलाडी हुन् । पा“च फिट सात इन्च अग्ली उषाको जम्प गज्जब छ ।
कोर्टमा उनी आफ्नो उचाइको फाइदा लिँदै विपक्षी खेलाडीमाथि दबाब राख्छिन् । खेलाडीको जीवन सफल हुनुमा परिवारको हात महत्वपूर्ण मानिन्छ । वर्तमान समयकै नेपाली महिला भलिबल टोलीमा १८ वर्षीय उषा एक उदीयमान खेलाडीका रूपमा स्थापित भइसकेकी छिन् । यिनै भलिबलकी स्टार महिला खेलाडी अहिले एक विधामा मनोनीत भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेफ स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि पा“च खेलाडीको नाम मनोनयन गरेकोमा यसपल्ट उनी पनि परेकी छिन् ।
मनोनयनमा पर्ने अन्य खेलाडीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुबान लामा रहेका छन् । अवार्डमा मनोनीत हुँदा उषाले सपनाजस्तो लागेको बताएकी छिन् ।