दिलीप महतोको हत्यामा संलग्न क्रसर उद्योगीलाई २५ वर्ष कैद फैसला

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

धनुषाका पर्यावरण अभियन्ता दिलीप (ओमप्रकाश) महतोको हत्यामा संलग्न क्रसर उद्योगीलाई २५ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिनकुमार महतो र मुनीन्द्र महतोलाई सो हत्या घटनामा दोषी ठहर गर्दै जनही २५ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । विपिन क्रसर उद्योगी हुन् भने मुनीन्द्र कामदार थिए ।

घटनामा मतियारको भूमिका खेलेका जितेन्द्र महतोलाई १२ वर्ष कैद हुने भएको छ भने उनले पीडित परिवारलाई दुई लाख ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने आदेश भएको जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । दोषी ठहर भएकाले क्षतिपूर्ति तिर्न नसके पीडित राहत कोषबाट भराउने निर्णय गरिएको उनले बताए ।

यसअघि घटनामा आरोपित अन्य चारजनालाई अदालतले सफाइ दिएको थियो । सफाइ पाउनेमा रोशन यादव, शत्रुधन महतो, सत्यनारायण महतो र विनोद महतो हुन् । २५ पुस ०७६ मा धनुषाको मिथिला नगरपालिका– ५ श्रीपुरमा २४ वर्षीय महतोको हत्या भएको थियो । औहरी खोलामा अवैध रूपमा भइरहेको बालुवा–गिट्टी उत्खननको विरोध गरेपछि महतोको हत्या भएको थियो । 

सुझावित समाचार