गठबन्धन फेरिँदा यस्तो देखियो मतभार, आठ दलको पल्ला भारी

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवार भारी मतका साथ विजयी हुने देखिएको छ । प्रतिनिधिसभाका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । 

आठ दलमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत, र राष्ट्रिय जनमोर्चा छन् । ती आठ दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३२ हजार एक सय २३ मत पाउने सम्भावना देखिएको छ । 

निर्वाचन आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ । त्यसको ५१ प्रतिशत मत ल्याउने उम्मेदवार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचित हुनेछन् । 

संघमा ९८ र प्रदेशमा एक सय ७५ सदस्य कायम रहेको कांग्रेसको सबैभन्दा धेरै १६ हजार एक सय ४२ मतभार छ । चन्द्र भण्डारी उपचारका क्रममा देशबाहिर भएकाले मतदानमा उनी अनुपस्थित हुन सक्छन् । 

संघमा (सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित) ९७ र प्रदेशमा एक सय ६१ सदस्य भएको एमालेको १५ हजार तीन सय ९१ मतभार छ । कर्तव्य ज्यान मुद्दामा लक्ष्मी महतो कोइरी फरार रहेकाले उनी मतदानमा अनुपस्थित हुन सक्छन् । 

संघमा (राष्ट्रिय सभा उपाध्यक्षसहित) ४८ र प्रदेशमा ८२ सदस्य रहेको माओवादीको सात हजार सात सय २८ मतभार छ । संघमा (उपसभामुखसहित) १९ सदस्य भएको रास्वपाको एक हजार पाँच सय एक मतभार छ । 

संघमा १९ र प्रदेशमा २५ सदस्य भएको एकीकृत समाजवादीको दुई हजार सात सय एक, संघमा १४ र प्रदेशमा २८ सदस्य भएको राप्रपाको दुई हजार चार सय ५०, संघमा १५ र प्रदेशमा २२ सदस्य भएको जसपाको दुई हजार दुई सय ४१ र संघमा ६ र प्रदेशमा १६ सिट भएको जनमतको एक हजार दुई सय ४२ मतभार कायम रहेको आयोगले जनाएको छ । 

संघमा पाँच र प्रदेशमा १२ सदस्य भएको लोसपाको नौ सय ७१, संघमा चार र प्रदेशमा १२ सदस्य भएको नागरिक उन्मुक्ति पार्टीको आठ सय ९२, संघमा एक र प्रदेशमा तीन सदस्य भएको नेमकिपाको दुई सय २३, संघमा दुई र प्रदेशमा एक सिट भएको जनमोर्चाको दुई सय ६, संघमा (एक मनोनीतसहित) चार र प्रदेशमा नौ सदस्य रहेका स्वतन्त्रको मतभार सात सय ४८ रहेको आयोगको तथ्यांक छ । 

प्रदेशतर्फ एक सिट ल्याएको समाजवादी पार्टीको ४८, दुई सदस्य जितेको हाम्रो नेपाली पार्टीको ९६, एक सिट जितेको नेपाल संघीय समाजवादीको ४८ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुन्छन् । ०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । 

संघीय संसद्अन्तर्गत दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा अहिले दुई सय ७३ सदस्य कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसद्का कुल मतदाता तीन सय ३२ छन् । एक सदस्यको मतभार ७९ छ । यस आधारमा तीन सय ३२ मतदाताको २६ हजार दुई सय २८ मतभार हुन आउँछ । एक प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ, यसअनुसार पाँच सय ५० मतदाताको २६ हजार चार सय मतभार हुन्छ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम रहेको आयोगले जनाएको छ । 

प्रदेश सभाका कुल पाँच सय ५० सदस्य मतदाता कायम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार संघ र प्रदेशका गरी कुल आठ सय ८२ मतदाताले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा भाग लिन पाउनेछन् । 

प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद खारेज भएकाले रिक्त छ ।

सुझावित समाचार