जिल्लाकै मुख्य व्यापारिक क्षेत्रको रूपमा उदाउँदै गरेको सिराहाको गोलबजारस्थित उद्योग व्यापार संघको बुधबार सम्पन्न निर्वाचनको अन्तिम मतगणनामा विजय साहको सिंगो प्यानल निर्वाचित भएको छ।
संघको छैटाैँ साधारणसभा तथा अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित विजय साहले नौ सय ८१ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवछ साहले ६ सय ३६ मत ल्याएका छन्।
संघको प्रथम उपाध्यक्ष राकेशप्रसाद साह ‘गुप्ता’ ले एक हजार ६३ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी अरविन्दकुमार सिंहले पाँच सय ८८ मत प्राप्त गरेका छन् भने द्वितीय उपाध्यक्ष त्रिदेव साह (सोनार) एक हजार ३१ मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी विनोद कुमार साहले ६ सय आठ मत प्रप्त गरेका छन्।
कोषाध्यक्ष पदमा मोहम्मद एकलाख खाँ (दुलारे) नौ सय ७० मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी उपेन्द्र गण्डाले ६ सय ५५ मत प्राप्त गरेका छन् । महासचिवमा राजदेव यादव नौ सय ८० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राजकुमार महतोले ६ सय ६३ मत ल्याएका छन् । संघको कार्यसमिति सचिवमा वीरेन्द्र सिंह (बैजु) एक हजार ९० मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सुनिल पूर्वेले पाँच सय ४५ मत प्राप्त गरेका छन् ।
नौ सदस्य निर्विरोध निर्वाचित
कुल १५ सदस्यीय कार्यसमितिमा ६ पदाधिकारीबाहेक महिलासहित नौजना सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत प्रशान्त साहका अनुसार कार्यसमितिमा महिला सदस्य वीणा शर्मा, सदस्यहरू महावीर साह, सुशीलकुमार साह, हरिलाल साह, मो. सदाव खान, शिवजी साह, प्रकाश साह, श्यामकुमार यादव र प्रेमकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।
गत २९ माघमा उद्घाटन सत्र सम्पन्न गरी २ फागुनदेखि सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत बुधबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत साहका अनुसार एक हजार आठ सय ७० मतदातामध्ये एक हजार ६ सय ९९ मतदान भएकोमा रातिदेखि नै मतगणना गर्ने भनिए पनि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूकै सहमतिमा बिहीबार बिहान ८ बजेदेखि मतगणना थालिएको थियो।
कार्यसमितिको ६ जना पदाधिकारीका लागि निर्वाचनमा अध्यक्षमा तीन, प्रथम र द्वितीय उपाध्यक्षमा चारजना, महासचिव दुई, सचिव दुई, कोषाध्यक्ष दुई गरी १३ जनाको उम्मेदवारी परेको थियो।