६४ जिल्लामा हात्तीपाइलेको जोखिम

जोखिममा रहेका ४० जिल्लामा ३० हजारभन्दा बढी हात्तीपाइले रोगबाट प्रभावित

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण
६४ जिल्लामा हात्तीपाइलेको जोखिम

हात्तीपाइले रोगविरुद्धको औषधि खाएर अभियान सुरु गर्दै कैलालीका प्रजिअ युवराज कट्टेल

सरकारले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । तर, अझैसम्म ६४ जिल्ला हात्तीपाइले रोगको जोखिममा छन् । जसमध्ये जोखिममा रहेका ४० जिल्लामा मात्र ३० हजारभन्दा बढी हात्तीपाइलेबाट प्रभावित रहेको पाइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हाल जोखिममा रहेका जिल्लामा हात्तीपाइले प्रभावितको सर्वेक्षण भइरहेको छ । सर्वेक्षणको पहिलो चरणमा ४० वटा जिल्लाबाट लिइएको तथ्यांकअनुसार ३० हजारभन्दा बढी व्यक्तिमा हात्तीपाइलेका विभिन्न लक्षण पाइएको हो ।  

सरकारले ६४ जिल्लालाई हात्तीपाइलेबाट ग्रसित जिल्लामा सूचिकृत गरेको छ । यी जिल्लामा औषधि कार्यक्रम विगतदेखि सञ्चालन भएकोमा अहिले ४० वटामा औषधि बन्द गरेर बिरामीहरूको म्यापिङ (तथ्यांक संकलन) को काम भइरहेको छ ।

१५ जिल्लामा भने बिहीबारदेखि औषधि खुवाउने अभियान सुरु भएको छ । अन्यमा पनि औषधि बन्द गरेर म्यापिङका लागि तयारी भइरहेको छ । इडिसिडीअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार पहिलो चरणको सर्वेक्षण सकिएसँगै बाँकी २४ जिल्लामा सर्वेक्षण सुरु गर्ने तयारी भइरहेको छ । 

‘राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम’अन्तर्गत प्रभावितको तथ्यांक संकलन र स्वास्थ्य परीक्षणसँगै हात्तीपाइले रोगविरुद्धको औषधि वितरण भइरहेको हो । ‘हात्तीपाइले संक्रमणबाट दीर्घ रूपमा प्रभावित र हातखुट्टा सुन्निएको, हाइड्रोसिल भएको तथा कतिपयमा हात्तीपाइले सिभियर भएकाको सर्वेक्षण गरिरहेको हो ।

हात्तीपाइलेको इन्डेमिक जिल्ला घोषणा गरिएका ६४ वटै जिल्लामा संक्रमण निवारणका लागि कुनै न कुनै कार्यक्रम सञ्चालन भइरहेका छन् । जसमध्ये ४८ जिल्लामा हाल औषधि वितरण अभियान बन्द भएको छ भने बाँकी जिल्लामा औषधि वितरण अभियान सुरु भएको छ,’ डा. दाहालले भने ।

१५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
बिहीबारदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि वितरण सुरु गरिएको छ । हात्तीपाइलेको जोखिममा रहेका यी जिल्लामा २५ फागुनसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थलमा बुथ बनाई खुवाइनेछ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पहिलो दिन बिहीबार स्वास्थ्यकर्मीले सबै जिल्लामा बुथमै औषधि खुवाए । शुक्रबारदेखि विद्यालय, स्थानीय पालिका र घरघरमै पुगेर औषधि खुवाउने कार्यक्रम छ । ‘सकेसम्म धेरै संख्यामा औषधि दिइने लक्ष्य लिइएको छ । सबै नागरिकलाई औषधि सेवन गर्न अनुरोध गरेका छौँ,’ दाहालले भने ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष उमेर पूरा भएका सबै नागरिकलाई वितरण गरिएको छ । शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट प्रयोगमा ल्याइने यो औषधि हाल प्रभावित जिल्लामा विभिन्न चरणमा खुवाइँदै आइएको छ । चिकित्सकका अनुसार हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । हात्तीपाइलेका कारण शारीरिक अपांगता हुनबाट बच्न औषधिको अनिवार्य सेवन आवश्यक छ । सरकारले औषधि निःशुल्क उपलब्ध गराइरहेको छ ।

 कैलालीमा १० वर्षसम्म सफल भएन हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान
कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान बिहीबारबाट सुरु भएको छ । दुई सातासम्म सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाभरि करिब आठ लाख ८० हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जिल्लाका सबै स्वास्थ्य संस्था, खोपकेन्द्रलगायत १४२ स्थानबाट औषधि खुवाउने व्यवस्था गरिएको बताए ।

औषधि खान छुटेकालाई घरमै गएर पनि खुवाइने, तर सुत्केरी, गर्भवती, दुई वर्षमुनिका बालबालिका र सिकिस्त बिरामीले भने यो औषधि सेवन गर्न नहुने उनले बताए । कैलालीमा विगतमा १० पटकसम्म सफल नभएपछि ११ औँपटक अभियान सुरु गरिएको हो ।

धामीका अनुसार रोग उन्मूलनको घोषणाका लागि लगातार दुई वर्ष अभियानमा ८५% भन्दा बढी जनसंख्याले औषधि खाएको हुनुपर्छ । त्यस्तै, हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम हुनुपर्छ । तर, गत वर्षबाहेक विगतमा ५० प्रतिशतको हाराहारीले मात्र औषधि खाएको उनले बताए । गत वर्ष भने ८०.६७ प्रतिशतले औषधि खाएको उनले बताए ।

सुझावित समाचार