लुम्बिनी जनरल इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा सम्पन्न

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । सभा औपचारिक रूपमा सुरु हुनुअघि कम्पनीका संस्थापक अध्यक्ष हिमालयशमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुःख प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना गरी एक मिनेट मौनधारण गरिएको थियो ।

सभामा कम्पनीका अध्यक्ष मनोहरदास मूलले कम्पनीको व्यवसायलगायतका अन्य कामकारबाही, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने–गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरू, कम्पनी गाभिएपछिको अवस्था आदिका बारेमा सेयरधनीलाई विस्तृत रूपमा जानकारी गराए । सभामा विभिन्न सेयरधनीहरूले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनीसँग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब, आव ०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरूलाई कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने र सोबमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरियो ।

त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी र यस कम्पनीको सेयर आदान–प्रदान अनुपात १००ः८० हुने गरी स्वाप रेसियो कायम गर्ने, विस्तृत लेखापरीक्षणबापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जरलगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।

सुझावित समाचार