कतिपय मानिस मोटोपनका कारण चिन्तित हुन्छन् । तर, कतिपयलाई दुब्लोपनले समस्या भइरहेको हुन्छ । शरीरलाई सन्तुलित राख्नका लागि उचाइअनुसारको तौल आवश्यक हुन्छ । पोषक तत्वको कमीका कारण मानिस दुब्लाउने हुनाले खानपानमा पर्याप्त ध्यान दिन आवश्यक छ ।
क्यालोरीयुक्त खाना
बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खानुपर्छ । समयमा खाना खाने गर्नाले पनि तौल सन्तुलित हुन्छ । शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । भात, गेडागुडी, दूध, पनिरलगायत डेरीजन्य पदार्थलगायतमा उच्च क्यालोरी हुन्छ ।
काजु/बदाम
काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ । काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्याल्सियम पनि पाइन्छ, यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । नियमित बदाम खाएमा पाचन शक्ति बढ्छ ।
गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन सहयोग गर्छ ।
प्रोटिनयुक्त पदार्थ
माछा, मासु, दूध आदि अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाएर तौल बढाउन सकिन्छ ।
अन्डा
दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाँदा तौल बढ्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अन्डाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्व पुर्याइरहेको हुन्छ ।
केरा
मानसिक समस्या, मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाए यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । केरा ऊर्जावद्र्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ । त्यस्तै, स्याउ, सुन्तलालगायत मौसमी फलफूल नियमित खाने गर्नुपर्छ ।
प्रशस्त पानी पिउने
हाम्रो शरीरलाई पानीको मात्रा पुगेन भने पनि दुब्लोपनको समस्या निम्तिन्छ । दिनमा डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनु आवश्यक हुन्छ ।
तौल कम हुनुका केही कारण
- सामान्यतया करिब पाँच फिट पाँच इन्चको मानिसको तौल ६० केजी हुनु राम्रो मानिन्छ । यसरी उचाइअनुसार तौल भएमा स्वस्थ मानिन्छ । यद्यपि, कहिलेकाहीँ स्वस्थ मानिसको तौल पनि आवश्यकताभन्दा कम हुन सक्छ ।
- आवश्यकभन्दा कम तौल हुनुका विभिन्न कारण हुन्छन् । त्यसमध्ये एक हो, वंशानुगत गुण अर्थात् बाबुआमा नै पातलो हुनु ।
- समयमा खानेकुरा नखानु, कुनै रोगका कारण पोषक तत्व शरीरले लिन नपाउनुजस्ता विभिन्न कारणले पनि मानिस दुब्लाएको हुन्छ ।