नेपाल यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान देव खनालले युएईमा आयोजना हुने विश्वकप एसिया छनोट प्रतियोगितामा छनोट भएर स्वदेश फर्किने बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राष्ट्रिय खेलकुद परिषदमा आयोजित बिदाइ कार्यक्रमपछि बोल्दै नेपाली टोलीका कप्तान देव खनालले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए।
पोखरामा भएको अभ्यास र घरेलु मैदानमा सिनियर टोलीसँग खेलेका केही अभ्यास खेलबाट टोलीको प्रदर्शनमा सन्तोषजनक भएको भन्दै नवनियुक्त कप्तान खनालले छनोट नै टोलीको मुख्य लक्ष्य भएको बताए।
टोलीमा मुख्यतः फास्ट बलिङ पक्ष राम्रो भएको उनले थपे। छनोट प्रतियोगिताका सबै खेल फाइनलजत्तिकै महत्वपूर्ण भएको भन्दै खनालले सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रिने बताए।
कप्तान जिम्मेवारी आफ्नो व्यक्तिगत करिअरका लागि निकै महत्वपूर्ण रहेको र राम्रो नतिजा देशका लागि दिलाउँदै पुनः राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य रहेको कप्तान खनालले बताए।
यस्तै, नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महत्वपूर्ण रहेको र सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजनामा टोली रहेको बताए।
नेपाली टोली सबै पक्षमा सन्तुलित भएको बताउँदै प्रशिक्षक टमाटाले मुख्यतः टोलीमा तीव्र गतिका बलरले खेलमा हाबी हुने विश्वास लिएका छन्।
मंगलबार नेपाली टोलीले विश्वकप क्रिकेट लिग– २ को च्याम्पियन टोली स्कटल्यान्डसहित नामिबियासँगको शृंखलामा क्लिन स्विप गरेपछि उमेर समूहको टोलीमा पनि मनोबल बढेको बताउँदै प्रशिक्षक टमाटाले करिब दुई महिनाको क्लोज क्याम्पको नतिजा राम्रो आउने विश्वास गरे।
युवा खेलाडीमा केही गर्नुपर्छ भन्ने अठोट भएको र कुनै पनि हालतमा छनोट हुने लक्ष्य लिएर खेल्न टोली मानसिक हिसाबमा तयार भएको प्रशिक्षक टमाटाले बताए। सिनियर टोलीसँगको अनुभव बटुलिसकेका देव खनालको कप्तानीमा टोली छनोट भएर स्वदेश फर्किनेमा आफू ढुक्क भएको बताए।
उता छनोट प्रतियोगिताका लागि नेपाली यू– १६ टोलीबाट खेलिसकेका अर्जुन कुमालले पनि तयारी राम्रो गरेको बताउँदै च्याम्पियन भएर स्वदेश फर्किने प्रतिबद्धता जनाए।
अहिले मौका भएको भन्दै ओपनर अर्जुनले सबै खेलमा जित शतप्रतिशत दिएर टोलीका लागि सुखद नतिजा दिलाउने लक्ष्यका साथ खेल्ने बताए।
एसिया छनोट फागुन १२ देखि युएईमा आयोजना हुँदै छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईको सहभागिता छ।
सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यू– १९ मा सीधै छनोट हुने मौका पाउनेछ। यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग छनोट टोलीले विश्वकप यू– १९ प्रतियोगिता खेल्नेछ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्। सार्वजनिक तालिकाअुनसार नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरविरुद्ध खेल्दै सुरुवात गर्नेछ।
दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ। फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ । टोली बुधबार नै युएई प्रस्थान गर्नेछ।
नेपाली टिम :
देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशालविक्रम केसी, मिलन बोहरा, आकाश चन्द ।