घरअगाडि ट्यांकी, तर खानेपानीका लागि ट्युबेलको भर

ट्युबेलको पानीमा आइरन र म्यागानिजको मात्रा अत्यधिक हुँदा कन्काई नगरपालिका– १ प्रजापतिका अधिकांश स्थानीयमा विभिन्न स्वास्थ्य समस्या

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण
घरअगाडि ट्यांकी, तर खानेपानीका लागि ट्युबेलको भर

ट्युबेलबाट खानेपानीको जोहो गर्दै झापाको कन्काई– १ का स्थानीय । तस्बिर/ नयाँ पत्रिका

कन्काई नगरपालिका– १ प्रजापतिका तारा कोइरालाको घरका भाँडा ट्युबेलको पानीले राता भएका छन् । सिलभरको गाग्री त तामाको जस्तै भएको छ । आर्थिक अवस्था कमजोर भएका कोइरालाले फिल्टर जोड्न सकेका छैनन् । घरेलु उपाय लगाएर पानी फिल्टर गर्छन्, तर पानी शुद्ध हुँदैन । पानी राखेका भाँडा रातो हुन्छ । ट्यबेलको पानी केही समय राख्नेबित्तिकै रातो हुन्छ । ‘कलमा साह्रै खराब पानी आउँछ । फिल्टर राख्न सकिएको छैन,’ उनी भन्छन्, ‘यो ठाउँलाई त सरकारले पनि हेप्यो ।’ 

कोइरालाको घरनजिकै खानेपानीको ट्यांकी छ । झन्डै दुई दशकअघि ९० परिवारका लागि भनेर फन्ट बोर्डको सहयोगमा खानेपानी विस्तार गरेको थियो, तर केही वर्ष चलेपछि बिग्रियो । ‘आँखाअगाडि ट्यांकी छ, तर पानी आउँदैन,’ उनी भन्छन्, ‘यत्रो वर्षसम्म बिग्रँदा न उपभोक्ता समितिले ध्यान दिन्छ, न त सरकारले नै !’ यहाँको पानीले धुँदा लुगा नै बिग्रने गरेको उनी बताउँछन् । ‘विकल्प नभएपछि त यस्तै पानी पनि खानुपर्यो नि !’ उनी भन्छन्, ‘नयाँ लुगा एक–दुईपटक धोयो भने लगाउनै नहुने हुन्छ । खाँदा त झन् के होला ?’

प्रजापति क्षेत्रमा खानेपानीको ठूलो अभाव रहेको स्थानीय बाल्दिका अधिकारी बताउँछिन् । ‘खानेपानी धेरै रातो छ । फिल्टर नगरी खानै सकिँदैन । यहाँको दुःख कसैले देखेनन्,’ उनी भन्छिन् । उनका अनुसार नजिकैको ट्यांकी बनाउने भनेर प्रजापति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बर्सेनि पैसा उठाइरहन्छ, तर खानेपानी भने कहिल्यै आउँदैन । ‘घरछेउमा खानेपानीको ट्यांकी देखिन्छ, तर पानी आउँदैन,’ उनी भन्छिन्, ‘पानी बनाउन भनेर बर्सेनि ५–६ सय रुपैयाँ प्रत्येक घरबाट उठाउँछन्, तर पानी दिँदैनन् । आए पनि एक–दुई दिन आउँछ । त्यसपछि बन्द हुन्छ ।’

पूर्व–पश्चिम राजमार्गदेखि उत्तरमा रहेको प्रजापति क्षेत्रका प्रत्येक घरमा सिमेन्टको फिल्टर देखिन्छ । ऋण गरेर भए पनि शुद्ध खानेपानीका लागि स्थानीयले सिमेन्टको फिल्टर राखेका छन् । उक्त फिल्टरमा बालुवा र गिट्टी लगाएर पानी शुद्धीकरण गर्ने गरिएको स्थानीय बोधकुमारी पौडेल बताउँछिन् । तर, ट्युबेलको आर्सनिकयुक्त पानीले ती फिल्टर नै रातो भएको उनको भनाइ छ । ‘यहाँको सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो । मान्छेले ऋण गरेर भए पनि सिमेन्टको फिल्टर बनाएका छन् । तर, यो फिल्टरबाट आएको पनि पनि शुद्ध हुँदैन । केहीबेर भाँडामा राख्यो भने भाँडा नै बिग्रन्छ,’ उनले भनिन्, ‘चुनावका वेलामा भोट माग्न आउनेले खानेपानी चाँडै ल्याइदिन्छौँ भन्थे । तर, चुनाव सकिएपछि बिर्सन्छन् ।’ 

यसरी सिमेन्टको फिल्टरबाट ट्युबेलको पानी शुद्धीकरण गर्दा पनि पिउन उपयुक्त नहुन सक्ने डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका प्रमुख विकास काफ्लेले बताए । ‘झापामा ट्युबेलको पानी खानयोग्य छैन । यहाँ आइरन र म्यागानिजको मात्रा अत्यधिक छ । त्यो पानी प्रशोधन नगरी खान मिल्दैन,’ उनी भन्छन्, ‘यसरी सिमेन्टमा फिल्टर गर्दा केही शुद्ध होला, तर खानयोग्य नै हुन्छ भन्न सकिँदैन । आइरन नहटेको पनि त हुन सक्छ ! हामीले त्यो ठाउँमा घरहरूमा सिमेन्टको फिल्टर देखेका छौँ । तर, जाँच नगरेको हुँदा पिउनयोग्य छ कि छैन भन्न सकिँदैन । पानी वितरण नहुँदा बाध्य भएर खाएका हुन् ।’

पुरानो खानेपानी आयोजना बिग्रिएपछि नागरिकको घरमा शुद्ध पिउनेपानी पुर्याउन नसकिएको प्रजापति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर राउतले बताए । दुई दशकअघि सुरु भएको खानेपानी आयोजना ९० परिवारका लागि भएको उनले बताए । तर, सुरुको दुई वर्ष मात्र पानी वितरण गर्न सकिएको र त्यसपछि समस्या आएको 
उनी बताउँछन् । 

पछिल्लो समय डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयले उक्त ठाउँमा खानेपानी निर्माणका लागि बजेट विनियोजन गरेको छ । चार सय ४२ घरधुरीका लागि खानेपानी निर्माणको योजना ल्याइए पनि समयमा पर्याप्त बजेट नदिँदा खानेपानी विस्तारको काम चार वर्षदेखि अलपत्र रहेको राउतले बताए । ‘नयाँ खानेपानीमा पहलकदमी गरिरहेका छौँ । ०७५ मा जग्गा व्यवस्थापनपछि अहिलेसम्म एक करोडजति बजेट आयो । जग्गा घेराबारा, खानेपानी कार्यालयको चारकोठे भवन निर्माण गर्यो । ०७७ मा डिप बोरिङको सामान पनि आएको छ,’ उनले भने, ‘तर, अब ट्यांकी निर्माण र पाइपलाइन विस्तारको मुख्य कामचाहिँ अड्किएको छ । अब दुई करोडजति बजेट दिए काम सक्ने थियौँ । तर, अहिले १५ लाख मात्र बजेट दिएको छ । यसले के गर्ने ?’

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका प्रमुख विकास काफ्लेले बजेट नआएका कारण प्रजापति खानेपानीसहित जिल्लाका अन्य ठाउँका खानेपानी आयोजन अलपत्र परेको बताए । ‘अर्को खानेपानी आयोजना प्रजापतिमा बन्दै छ । बजेट अभावले ट्यांकी निर्माण र पाइपलाइन विस्तार गर्न सकेका छैनौँ,’ काफ्लेले नयाँ पत्रिकासँग भने, ‘बजेट थोरै आउँछ । हामीलाई चाहिने धेरै हुन्छ । त्यही भएर समयमा काम गर्न सकिएन । झापामा आयोजनाको संख्या धेरै छ । त्यसअनुसारको बजेट आउँदैन । झापाका अन्य योजना पनि बजेट अभावमा अलपत्र भएको छ ।’

 १५ प्रतिशतमा झापाली खानेपानीको पहुँचबाहिर
झापामा अझै १५ प्रतिशत जनसंख्या शुद्ध खानेपानीको पहुँचबाहिर छन् । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका अनुसार ८५ प्रतिशत जनसंख्यामा शुद्ध खानेपानी पुगेको छ । खानेपानीको पहुँचबाहिर रहेका जनता ट्युबेलको पानी खान बाध्य छन् । ट्युबेलको पानीमा आइरन र म्यागानिजको मात्रा अत्यधिक हुने भएकाले खानयोग्य नहुने डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापा प्रमुख विकास काफ्लेले जानकारी दिए ।

सुझावित समाचार